वाग्मती प्रदेशसभाको बैठक बोलाउन दलहरुको आग्रह,सभामुखको भूमिका माथि प्रश्न

बाइलाइन नेपाल
८ माघ २०७७, बिहीबार १८:१६
फाइल फोटो

हेटौंडा । वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल प्रदेशसभाको बैठक आव्हान गर्न आग्रह गरेका छन् । प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भए पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

बिहीबार दिउँसो प्रदेशसभा सञ्चालनका लागि करिब साढे ४ घण्टा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रदेशसभा सञ्चालनका लागि दलहरु सहमत भए पनि सभामुख श्रेष्ठ विभिन्न बहाना बनाएर पन्छिएको बैठकमा सहभागीहरुले बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यहरुले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए । ‘सभामुखकै कारण बैठक कहिले सञ्चालन हुने अनिश्चित भएको छ,’ उनले भने । सचेतक लामाका अनुसार सहभागीहरुले शुक्रबार बैठक आव्हान गरेर अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावका प्रस्तावक नेकपाका सांसद शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए । उनले सभामुखको भूमिका माथि नै प्रश्न उठाएका थिए ।

बुधबारबाट सुरु भएको प्रदेशसभाको सातौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलको दाहाल–नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहबाट पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् । ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*