ओलीकै बाटोमा डोरमणि हिँडेपछि अविश्वासको प्रस्तावः अष्टलक्ष्मी शाक्य

बाइलाइन नेपाल
७ माघ २०७७, बुधबार १६:४९
अष्टलक्ष्मी शाक्य

हेटौंडा । नेकपा संसदीय दलको प्रमुख नेता अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेश सरकार पनि प्रधानमन्त्री केपी ओलीकै बाटोमा हिँड्न थालेकाले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताएकी छिन् । वागमती प्रदेशको प्रदेशसभा सातौं अधिवेशसनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रदेश सरकारको काम प्रति धेरै प्रश्न उठेको उल्लेख गर्दै पटकपटक सच्याउने प्रयास असफल भएको नेता शाक्यले बताइन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैली ओलीकै बाटोलाई पछ्याउने क्रम जारी रहेपछि बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गरेको उनले उल्लेख गरिन् । उनले सभामुखलाई अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक विधिबाट छिटो टुंगो लगाउन आग्रह गरिन् ।

प्रधानमन्त्री ओलीले जनताको विश्वास, गणतन्त्र र व्यवस्थामाथि प्रहार गरेर प्रतिगामी बाटोमा लागेकाले सडकमा उत्रनु परेको शाक्यले बताइन् । उनले आधिकारीक रुपमा पार्टी नफुटेपनि अन्य सबै कुरामा पार्टी अलग भइसकेको उल्लेख गरिन् । ओलीको कार्यशैलीलाई सहजीकरण गर्ने लामो प्रयास गरेपनि सबैको विचार र सुझावलाई सुन्ने र पार्टीको विधि र प्रक्रिया अनुसार निष्कर्षमा पुग्ने बाटोलाई लत्याएपनि आन्दोलनमा उत्रिएको शाक्यको भनाई छ । उनले प्रतिगमनलाई सच्याउन सडकमा जानु आवश्यक रहेको उल्लेख गर्दै आन्दोलन सफल पारेर खोसिएको हकअधिकार फिर्ता लिन सबै पक्ष लाग्नुपर्ने बताइन् ।

यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गर्ने ताएका थिए । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम परिस्थितिमा उभिएको उल्लेख गरे ।

प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचान मिति तोकिएको अवस्थामा केहि सत्ता पक्ष र प्रतिपक्षले विरोध जनाइरहेको बताए । आफुलाई काम गर्न नदिने अवस्था भए पछि प्रधानमन्त्री ओलीले जनता सामु नयाँ जनादेशको लागि चुनाव रोज्नुपरेको बताए । एउटै विचार अनि पार्टी भएता पनि अविश्वास गरिएको बताए । शुन्य अवस्थामा रहेको प्रदेश सरकार अहिले धेरै अघि बढेको र विभिन्न नमुनालायक योजनाहरु भइरहेको र केहि भइसकेको अवस्था रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*