माल्यार्पणमै सिमित बनाइयो जनयुद्धका सहिद रुद्र पाख्रिनको स्मृतिलाई

बाइलाइन नेपाल
२८ पुष २०७७, मंगलवार १०:४२

हेटौंडा । आज माओवादी जनयुद्धका तत्कालिन मकवानपुर कमाण्डर रुद्र पाख्रिन (रमेश) को १८ औं स्मृति दिवस । मकवानपुरगढी गाउँपालिकाको कालिखोलामा पाख्रिनको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । मुलुक परिवर्तनका लागि ज्यानको आहुती दिएका पाख्रिनको स्मृति दिवस माल्यार्पणमै सिमित हुन पुगेको छ । पाख्रिनले जुन व्यवस्था ल्याउनका लागि हासिहासि ज्यान गुमाए आज त्यही व्यवस्थामाथि आक्रमण हुँदा समेत उनको योगदानको कदर गर्नेहरु भेटिन छाडेका छन् ।

तत्कालिन माओवादीका नेता तथा पाख्रिनकै पदचापमा मुलुक परिवर्तन गर्न जनयुद्धमा होमिएकाहरु अहिले पार्टीको विभिन्न तहमा नेतृत्व गरिरहेका छन् । तर पनि पाख्रिनको योगदान प्रतिमामा मात्रै सिमित राखेको भन्दै सर्वसाधारणले आपत्ती जनाएका छन् । केही वर्षअघिसम्म विशेष रुपमा मनाइने गरिएको पाख्रिनको स्मिृत दिवस अघिल्ला वर्षदेखि माल्र्यार्पणमै सिमित बनाइएको हो । देशको वर्तमान राजनीति अवस्था जटिल बनेको समयमा स्मृति दिवसलाई विशेष रुपमा मनाएर उनको सपनालाई पुरा गर्ने अभियानको रुपमा प्रतिवद्धता जनाउनु पर्ने थियो । तर त्यसो हुन सकेन् । यसवर्षपनि औपचारिकताका लागि पाख्रिनको प्रतिमामा माल्र्यार्पण गर्ने काम मात्र भएको छ ।

पाख्रिनको योगदान अब सामाजिक सञ्जालमा मात्र हुन थालेको छ । हेटौंडाबाट नजिकै रहेको प्रतिमा स्थलमा पुग्न समेत अल्छि गरेका माओवादीका नेताहरु विहानैबाट फेसबुकमा पाख्रिनको स्मृति दिवस मनाउन व्यस्त देखिन्छन् । यसले पनि उनको योगदानको कदर कति भएको रहेछ भन्ने बुझ्न सकिन्छ ।

तत्ककालिन माओवादी जनयुद्धमा मकवानपुरको कमाण्ड सम्हालेका पाख्रिन २०५९ पुस २८ गते मारिएका थिए । पार्टीको कामको शिलशिलामा मकवानपुरको पूर्वी क्षेत्र जाँदै गरेका पाख्रिनलाई तत्कालिन शाही नेपाली सेनाले बकैया गाउँपालिकाको छतिवनमा नियन्त्रणमा लिएर हत्या गरेको थियो । उनि २०५४ सालबाट पूर्णभूमिगत भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय थिए ।

सहिद पाख्रिनको सम्झनामा मकवानपुरगढीमा रुद्र स्मृति बाटिका स्थापना गरिएको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलो मिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको कालिखोलास्थित शान्ति चोकमा बाटिका स्थापना गरिएको छ ।

यो बाटिका विसं २०६३ साल मंसिर ९ गते पहिलो पटक ७० जना व्यक्तिहरुको भेलाले ‘रुद्र स्मृति उद्यान’ निर्माण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विसं२०६३ साल फागुन ८ गते दर्ता नम्बर १०६२ मा दर्ता भयो । बाटिकाको क्षेत्रफल करिब ४० रोपनी रहेको छ । संस्थाको अहिले आफ्नै व्यवस्थित भवन, शौचालय र स्नानघर, पिकनिक स्थल, प्रतिक्षालय, चौतारोलगायतका संरचना रहेका छन् ।

विसं २०१९ साल साउन २७ गते बाबु समनमान पाख्रिन र आमा माया पाख्रिनको ज्येष्ठ सुपुत्रका रुपमा रुद्रबहादुर पाख्रिनको मकवानपुरको गोगनेस्थित बाङ्गे भन्ने ठाउँमा उनको जन्म भएको थियो । गोगनेबाट विसंं २०२० सालमा पाख्रिनको परिवार मकवानपुरगढीमा आएको हो । उनको छोरा भीम पाख्रिन नेकपाको प्रदेश कमिटी सदस्य छन् भने बुहारी मनमाया नेपाली नेकपा मकवानपुरगढी गाउँपालिकाको इन्चार्ज छिन् । युगान्तकारी परिवर्तनका एक कुसल अभियन्ता, जनयुद्धका सहिद रुद्रबहादुर पाख्रिन (रमेश) प्रति हार्दिक श्रद्धासुमन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*