ओलीका कारण देश दुर्घटनातिरः नेता न्यौपाने

बाइलाइन नेपाल
२२ पुष २०७७, बुधबार १९:१०

हेटौंडा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिन पनि पर्खन नसकेकाले देश दुर्घटनातिर गएको केन्द्रीय सदस्य केदार न्यौपानेले बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित गाउँ कमिटी बैठक तथा बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले पुस १० गते केन्द्रीय कमिटीको बैठकसम्म पुग्न पाएको भए संसद विघटन नहुने ठोकुवा गरे ।

‘ओली कमरेडले हत्तारिएर संसद विघटन गरे’, नेता न्यौपानेले भने–‘पुस १० गते बस्ने बैठकले सबै गाँठाहरु फुकाएर लैजानेमा हामी विश्वस्त थियौँ ।’ ५ बर्ष ओलीकै नेतृत्वमा सरकार चलाउने र अध्यक्ष पनि कायमै राख्ने अनि प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकारको सूचि टुंग्याउने गरी केन्द्रीय सदस्यहरुबीच सल्लाह भइरहँदा ओलीले अकस्मात संसद बिघटन गरेर तानाशाही प्रबृत्ति हाबी गरेको न्यौपानेको आरोप थियो ।

‘हुन त बैठकबाट कुरा मिल्ला भन्ने डर पनि होला उनलाई’, न्यौपानेले ब्यंग्य गर्दै भने –‘कुरा मिल्यो भने संसद भंग गर्ने सपना त पूरा हुने थिएन ।’ भागवत गीताको प्रसंग उठाउँदै राजालाई वलवानहरुले पाता फर्काएर गुरुकोमा पछारेको सुनाउँदै भने–‘चुनाव जितेर हैसियत बिर्सेकाहरुलाई हैसियत देखाइदिने भनेको पाता फर्काएरै हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै कानूनविद् समेत रहेका नेकपा नेता सूर्यचन्द्र न्यौपानेले विधि, विधान, पद्धति, बैठक नमान्ने ओली प्रबृत्तिले देश बर्बादितिर धकेकोलेको बताए । प्रदेश कमिटी सदस्य ललित घलानले ओलीका हावादारी योजना र भाषणले जनता वाक्क दिक्क भएको बताए ।

गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेल, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, रेखा पुलामीमगरले ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*