मकवानपुरको कैलाशमा बन्दुक पड्केर एकजना घाइते

बाइलाइन नेपाल
२० पुष २०७७, सोमबार ०७:३८

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–५ स्थित कटहरेमा सिकार गर्न जाँदा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । घटना गत पुस १६ गतेको भएता पनि आइतबार साँझ मात्र थाहा हुन आएको हो ।

भरुवा बन्दुकको गोली लागेर घाइते भएका कृष्णबहादुर वाइबालाई आइतबार साँझ हेटौंडामा उपचारको लागि ल्याइएको छ । कटहरेका स्थानीयबासीले घटनाबारे आइतबार साँझ जानकारी पाएपछि जानकारी गराएका थिए । ‘सकभर गोली लागेको घटना लुकाउन खोजिएको रहेछ । घाइतेलाई सहनै नसक्ने भएपछि उपचार गर्न हेटौंडा लैजान लाग्दा हामीले थाहा पाएका हौं । सिकार गर्न जाँदा अर्कैले हानेको गोली लागेर ती मान्छे घाइते भएको भन्ने सुन्नमा आएको छ ।’ एक स्थानीयले नाम नबताउने सर्तमा टेलिफोन कुराकानीमा भने ।

कैलाश गाउँपालिका–५ नम्बर वडाका वडाध्यक्ष छेकु लामाको निर्देशनमा कालिजको सिकार गर्न जाँदा घटना भएको ती स्थानीयले दावी गरेका छन् । ‘घटना हुनुमा वडाध्यक्षकै पनि केही संलग्नता देखिएकाले घटना लुकाउन खोजिएको देखिन्छ । सत्यतथ्य के हो खोजी गर्नुप¥यो ।’ ती स्थानीयले भने ।

कुममा गोली लागेर घाइते भएका कृष्णबहादुरलाई हेटौंडाको सहकारी अस्पतालमा उपचारको लागि राखिएको छ । गोली लागी घाइते भएर उपचारमा आएको जानकारी पाएपछि अस्पताल पुगेको प्रहरी टोलीले पनि घाइतेको कुममा गोली लागेको पुष्टी गरेको छ । अस्पतालमै पुगेर अनुसन्धान गर्दा गोली लागेर घाइते भएको स्पष्ट देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताए ।

घटनाको विषयमा घाइतेले केही पनि खोल्न नचाहेका कारण विस्तृतमा थाहा हुन नसकेको र अनुसन्धान भइरहेको रानाले बताए । घटनास्थलमै पुगी थप अनुसन्धानको लागि इलाका प्रहरी पालुङबाट सोमबार बिहान प्रहरीको टोली कटहरेतर्फ गएको छ । साभारः प्रदेशसञ्चार डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*