के मनिला विष्टले उपाध्यक्षबाट दिएको राजीनामा पत्र किर्ते हो ?

बाइलाइन नेपाल
१९ पुष २०७७, आईतवार २०:०८

हेटौंडा । मंसिर महिनाको अन्त्यबाटै मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएको विषय चर्चामा थियो । यही बीच पुस १७ गते शुक्रबार राजीनामा स्विकृत भएको विषय बाहिर आएपछि मकवानपुरको राजनीतिक वृतमा यसले व्यापक चर्चा पाएको छ । विशेष गरी नेकपा दुई समूहमा विभाजन भई एक पक्षले अर्को पक्षलाई कारबाही गरिरहेको अवस्थामा एकाएक उपाध्यक्ष विष्टको राजीनामा स्विकृत भएको समाचार बाहिर आएपछि यसले व्यापकता पाएको हो ।

मंसिर २९ गते उपाध्यक्षबाट राजीनामा दिएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आएपछि गाउँपालिकाले त्यसको खण्डन गरेको थियो । उपाध्यक्ष विष्टले राजीनामा नदिएको भन्दै कपोकल्पित समाचार लेख्नुअघि सरोकारवालसँग सोध्न समेत भनिएको थियो । तर त्यसको २० दिन नपुग्दै गाउँपालिकाको बैठकले नै उपाध्यक्ष विष्टले दिएको राजीनामा स्विकृत गरेको निर्णय गरेको छ । यसले गाउँपालिकालाई झन विवादमा तानेको छ । आफैले विज्ञप्ती निकालेर राजीनामा नदिएको बताउँने गाउँपालिकाको बैठकले नै राजीनामा स्विकृत गर्नुलाई अनौठो रुपमा लिइएको छ ।

कतिपयले यसलाई नेकपाको विवादसँग जोडेर पनि हेरेका छन् । गाउँपालिका अध्यक्ष एकराज उप्रेती ओली समूह र अहिलेसम्म तटस्थको भुमिकामा रहेको दाबी गरेपनि उपाध्यक्ष विष्ट प्रचण्ड–नेपाल समूहमा रहेको बताइन्छ । जसले गर्दा एक समूहले अर्को समूहलाई लखेट्ने शिलशिलाको एउटा रुप मनहरी गाउँपालिकामा पनि भएको टिप्पणी हुन थालेको छ । पार्टी विवादको चेपुवामा उपाध्यक्ष विष्ट परेको भन्नेहरु पनि नेकपामा रहेका छन् ।

आफ्नो राजीनामा स्विकृत भएको समाचार सञ्चारमाध्यममा आएपछि उनले आइतबार नै हेटौंडामा पत्रकार सम्मेलन गरेर त्यसमा सत्यता नभएको दाबी गरेकी छिन् । पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेती र कर्मचारीको व्यवहारले आजित भएको भन्दै निकै भावुक रुपमा प्रस्तुत भएकी विष्टले आफुले राजीनामा नदिएको उल्लेख गर्दै आफ्नो नाममा राजीनामा पत्र दर्ता गरिएको भएपनि किर्ते भएको बताइन् । गाउँपालिकामा हालीमुहाली गर्ने केही कर्मचारीले षड्यन्त्रमूलक ढंगबाट आफ्नो नाममा किर्ते राजीनामा दर्ता गराएको उनले आरोप लगाएकी छिन् ।

उपाध्यक्ष विष्टका अनुसार पनि गाउँपालिकाको दर्ता किताबमा राजीनामा पत्र दर्ता भएको छ । तर उनले आफुले राजीनामा नै नदिएको बताएकी छिन् । गाउँपालिकाको बैठकले उपाध्यक्षको राजीनामा स्विकृत गर्ने । उपाध्यक्ष विष्टले राजीनामै नदिएको दाबी गरिरहेको अवस्थामा के भएको हो भन्ने तथ्य स्पष्ट हुन सकेको छैन । राजीनामा विष्ट आफैले दिएकी हुन वा कुनै कर्मचारीले उनले दाबी गरेजस्तै फसाएका हुन् पछि खुल्दै जाला ।

अहिले उपाध्यक्ष विष्टले दिएको राजीनामा पत्र नै सार्वजनिक भइसकेको छ । त्यसमा अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतले तोक लगाएर दर्ता समेत भएको देखिन्छ । जसमा उपाध्यक्ष विष्टले अध्यक्ष समक्ष राजीनामा दिएको स्पष्ट उल्लेख गर्दै हस्ताक्षर समेत गरिएको देखिन्छ । तर पत्रकार सम्मेलनमा उपाध्यक्ष विष्टले केही कर्मचारीहरुले विभिन्न कागजपत्रमा सही गराउने क्रममा किर्ते राजीनामा पत्र लेखेर त्यसमा पनि सही गराएको हुनसक्ने उनको आशंका रहेको छ ।

गाउँपालिकाका अध्यक्ष उप्रेतीका अनुसार विष्टले उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । त्यसलाई फिर्ता लिनका लागि केही समय मिलाउन प्रयत्न गरेपनि सफल भएन् । त्यसपछि वडा अध्यक्षहरुले उपाध्यक्षको विषय टुंगो नलागेसम्म बैठक तथा कार्यक्रम नै गर्न नदिने बताए पछि स्विकृत गरेको बताउँछन् । तर उपाध्यक्ष विष्ट आफुले राजीनामा नदिएको, कर्मचारीले किर्ते गरेर फसाउन खोजेको आरोप लगाउँदै न्यायका लागि अदालत जाने घोषणा गरेकी छिन् । उपाध्यक्ष विष्ट आफैले राजीनामा दिएकी हुन वा कर्मचारीले किर्ते गरेका हुन् तथ्यहरु बाहिर आउँदै जाला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*