ओली श्री ५ माहाराज बन्न खोजेः कांग्रेस नेतृ भुसाल

बाइलाइन नेपाल
१३ पुष २०७७, सोमबार १९:४३

हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ५ माहाराज बन्न नेपाली जनताले जनमत नदिएको बताइकी छिन् ।

नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले श्री ५ महाराजको शैलीमा संसद विघटन गरेर तानाशाही लादन खोजेको आरोप लगाइन् ।

नेतृ भुसालले कोरोनाको यस विषम परिस्थितिमा जनउत्तरदायी हुनुपर्ने सरकार संसद विघटन गरेर ओलीले जनमतको खिल्ली उडाएको उल्लेख गरिन् । उनले नेपाली कांग्रेस ओलीको असंबैधानिक गतिविधिको साक्षी नबस्ने स्पष्ट पार्दै जबसम्म संविधानको पूर्ण कार्यान्वयन हुँदैन, शान्ति प्रकृया पूरा हुँदैन, देश रोग भोग र गरिबी मुक्त हुँदैन र जबसम्म देश कम्युनिष्ट मुक्त हुँदैन तबसम्म नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने बताइन् ।

नेतृ भुसालले कुनै एक व्यक्तिको लहडले सिर्जित अस्थिरताको भागिदार सबै नेपाली जनताले हुन नमिल्ने बताउँदै प्रतिकारमा उत्रन आमजनसमुदायलाई आग्रहसमेत गरे ।

त्यसैगरी नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनताको छोराछोरी राष्ट्रपति हुने गणतन्त्रात्मक ब्यवस्थामै आघात पुग्नेगरी सरकारले जनमतको अपहेलना गरी संसद विघटन गरेको आरोप लगाए । नेपाली कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता बानियाँले जनताको मतलाई कम्युनिष्ट सरकारले उपहास गरेको बताए ।

विघटित संसदको पुनःस्थापना नेपाली कांग्रेसको पहिलो प्राथमिकता भएको बताउँदै नेता बानियाँले कांग्रेस निर्वाचनबाट पनि नभाग्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंबैधानिक कदमलाई सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरे । नेता बानियाँले नेपाली कांग्रेस सँधै नेपाली जनताको पक्षमा रहेको उल्लेख गर्दै सँधैं जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोद खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप पराजुली, सल्लाहकार रिता खनाल, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोइराला, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*