मनपरी गर्ने मनहरीका क्रसर उद्योगलाई कारबाही गरिने

बाइलाइन नेपाल
२ पुष २०७७, बिहीबार ०८:२१
फाइल तस्वीर

स्टक प्रमाणित भएकोभन्दा बढी परिमाणको ग्रेबल थुपारिएको पाइएपछि मनहरी गाउँपालिकाले गाउँपालिकाभित्रका डेढदर्जन क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुलाई जरिबाना गर्दै राजश्व असुली गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बुधवार भएको बैठकले जिल्ला समन्वय समिति मकवानपुरको निर्देशन बमोजिम राजश्व संकलन गर्ने निर्णय गरेको हो । प्रति घनमिटर ६७।५० रुपियाँका दरले राजश्व संकलन हुने गरेकोले सोही रकम बराबरको जरिबाना तिर्न व्यवसायीहरु पनि सहमत भएपछि जरिबाना गर्ने निर्णय गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । कूल १ लाख ८२ हजार घनमिटर ग्रेबलबापतको जरिबाना १ करोड २४ लाख ७ हजार ४ सय रुपियाँ हुन आउँछ । साथै उक्त परिमाणको प्रशोधनपछि निकासी हुँदा निकासी कर पनि थपिनेछ ।

बैठकले मनहरी अस्पतालको डिपिआर तयार गरी एकमहिनाभित्र ठेक्का प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसैगरी जग्गा नापी गरी लालपुर्जा बितरणका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगले पठाएको कार्यविधि अनुसार तत्कालै पालिका तह र वडातहमा आयोग गठन गरी प्रक्रिया अघि बढाउने र गाउँपालिकामा कर्मचारीको बन्दोबस्त भूमिसम्बन्धी डेस्क संचालन गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले अघिल्लो महिना मनहरी गाउँपालिका ६ नं वडामा उद्घाटन गरेको गाउँघर क्लिनिकमा तत्कालै जनशक्ति उपलब्ध गराएर नियमित स्वास्थ्य सेवा प्रबाह गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*