मनहरी गाउँपालिकामा जनप्रतिनिधिबीच लफडाः उपाध्यक्ष विष्टले दिइन् राजीनामा

बाइलाइन नेपाल
३० मंसिर २०७७, मंगलवार ०९:०७

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले लामो समयदेखि अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण समस्या भोग्दै आएको छ । गाउँपालिकाको नेतृत्व गर्ने अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्ट बीचको झगडाका कारण गाउँपालिकाको दैनिक कार्यसम्पादन देखि नीतिगत निर्णयसम्ममा धक्का पुगिरहेको छ ।

अध्यक्ष उप्रेती र उपाध्यक्ष विष्ट तत्कालिन एमालेबाटै निर्वाचित भएपनि सहमति र सहकार्य हुन नसकेको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । जनप्रतिनिधिको झगडाका कारण सहज रुपमा काम गर्न समेत समस्या परिरहेको कर्मचारीको गुनासो रहेको छ । अध्यक्षका एजेण्डा उपाध्यक्षले अस्विकार गर्ने र उपाध्यक्षको एजेण्डा अध्यक्षले नमान्ने भएकाले कर्मचारी समस्यामा परिरहेको बताइन्छ ।

यही झगडाका बीच गाउँपालिका उपाध्यक्ष विष्टले अध्यक्ष समक्ष लिखित रुपमा राजीनामा दिएकी छिन् । अध्यक्षको कार्यशैली, न्याय, महिला, बालबालिका तथा अल्पसंख्यकलगायतका क्षेत्रमा अध्यक्षले कामनै गर्न नदिएको उपाध्यक्ष विष्टको आरोप छ । अध्यक्षले कर्मचारीसँग मिलेर आफुलाई बाइपास गरेको भन्दै यसअघि पनि उपाध्यक्ष विष्टले सार्वजनिक स्थानमा गुनासो पोख्दै आएकी थिइन् ।

उपाध्यक्ष विष्टको राजीनामा आएको विषयमा अध्यक्ष उप्रेतीलाई सोध्दा उनले राजीनामा आएको बताए । उनले यसअघि पनि पटकपटक यस्तो राजीनामा दिने गरेको उल्लेख गर्दै राजीनामा पत्र फिर्ता हुने प्रतिक्रिया दिए । अध्यक्ष उप्रेतीले कुनैपनि क्षेत्रलाई बाइपास गरेर गाउँपालिकाले काम नगरेको बताए । गाउँपालिकाले सबैलाई समान र प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । उनले उपाध्यक्षको राजीनामाको विषयमा जिल्ला पार्टी नेतृत्व सँग छलफल गरिरहेको जानकारी दिए । राजीनामा दिएको विषयमा उपाध्यक्ष विष्टको प्रतिक्रिया लिन खोज्दा उनको विष्टको मोबाइल अफ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*