हेटौंडाबाट देउवाले ओलीलाई लगाए गम्भीर आरोप

बाइलाइन नेपाल
२९ मंसिर २०७७, सोमबार १७:४३

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको आरोप लगाएका छन् । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री माथि राजवादीसँग मिलेको आरोप लगाएका हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको ठोकुवा गरे । उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए ।

तर देउवाले राजा फेरि आउने भ्रममा नरहन आग्रह गरे । उनले गणतन्त्रणको विकल्प नभएकाले यसलाई सबैले बचाउनु पर्ने बताउँदै राजाले प्रजातन्त्रलाई नसहेका कारण काँग्रेस पनि गणतन्त्रको पक्षमा उभिएको बताए । उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

सरकारको लाचारीका कारण बलात्कार पीडितहरुलाई न्याय दिनका लागि अपराधीलाई पक्राउ नगरिएकोमा उनले आपत्ती जनाए । देशमा एकलौटी शासनले लेख्ने, बोल्न समेत रोक लगाइएको आरोप देउवाको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रसाद शर्माले नेपाली काँग्रेसलाई नजिस्काउन नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई चेतावनी दिए । कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर टेष्ट किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वारेन्टानइनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफुहरु सडकमा उत्रिनु परेको बताए ।

एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको शर्माको भनाइ थियो । अहिले जनताहरु कोरोना भाइरसको मारमा परिरहेका शर्माले बताए । काँग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भुकम्पले भत्कियो भन्दैमा अन्तरे जस्तरेहरु जेठो हुन नसक्ने उल्लेख गरे । जनता मारमा भएको बताउँदै उनले मारमा परेको जनताले सरकार जिन्दावाद भनेर नारा लगाउन नसक्ने शर्माको भनाइ थियो ।

अस्पतालमा आमालाई भर्ना गर्न गएको छोरो आमाले उपचार नपाएपछि सरकार जिन्दावाद भन्न सक्दैन, यातायात व्यवसायीहरु, विदेशमा संकटमा रहेका नेपालीहरु कसैले पनि सरकार जिन्दावाद भन्न नसक्ने शर्माले बताए । हरेक संकटको बेला काँग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै शर्माले अहिलेको संकटमा पनि काँग्रेसले नै नेतृत्व गर्ने बताए । विरोध सभा नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*