मकवानपुरको चित्लाङमा मदनभण्डारी विश्व विद्यालयको भवन निर्माण सुरु

बाइलाइन नेपाल
२८ मंसिर २०७७, आईतवार ०८:३९

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा मदनभण्डारी प्राविधिक विश्व विद्यालय निर्माणको काम सुरु भएको छ । विश्व विद्यालयको प्रशासनिक भवन निर्माण गर्न सुरु गरिएको हो । यस भवनका लागि ६ करोड ५० लाख रुपैयाँ लागतमा ठेक्का मार्फत काम सुरु भएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले बताए ।

विश्व विद्यालय निर्माणका लागि यस वर्ष सरकारले १ अर्व २० करोड रुपैयाँ छुट्याएको छ । त्यही अनुसार काम सुरु भएको सांसद खतिवडाले जानकारी दिए । मकवानपुरको चित्लाङ र काभ्रेमा गरी मदनभण्डारी प्राविधिक विश्व विद्यालयका संरचना निर्माण गर्ने सरकारको तयारी छ । भवन निर्माण सुरु भएको क्षेत्रको सांसद खतिवडा, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट लगायतकाले अनुगमन गरेका छन् ।

विश्व विद्यालयका विभिन्न चरणमा गरी कूल ४३ अर्ब लागत लाग्ने अनुमान छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्र्माण गर्न चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सो विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी रहने छन् । विधेयक लागू भएपछि आगामी वर्षदेखि विद्यालय सञ्चलनमा आउनेछ ।

मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ । सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा ७४० रोगनी जग्गा पहिचान भई प्राप्तिको क्रम शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*