६० वर्ष पुगेका मकवानपुरका पत्रकारले मासिक ४ हजार पेन्सन पाउने

बाइलाइन नेपाल
२४ मंसिर २०७७, बुधबार १९:३८

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शखाले २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेशा बनाइ ६० वर्ष उमेर पुगेका पत्रकारका लागि मासिक ४ हजार रुपैयाँ पेन्सन उपलब्ध गराउने भएको छ । पत्रकार महासंघ मकवानपुर शखाको बुधबारको कार्यसमिति बैठकले जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि, २०७७ को पास गर्दै पेन्सन दिने निर्णय गरेको हो ।

पेन्सन दिनका लागि हेटौंडा उपमहानगरपालिका कार्यालयलले कोषमा दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । पत्रकार महासंघ मकवानपुर शाखाले बाणिज्य बैकमा दश लाख रुपैयाँ जम्मा गरेको जनाएको । संघ मुद्दती खातामा रहेको दुइ लाख रुपैयाँ समेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको दश लाखको ब्ज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गर्न उनले जानकराी दिए ।

महासंघ मकवानपुर शाखामा आवद्ध भएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति बिकास गर्नका लागि पेन्सन दिन लागिएको जनाइएको छ । लगातार कम्तिमा २० वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी बिश्राम लिइसकेपछि प्राप्त निबेदनका आधारमा पेन्सन रकम दिने जनाइएको छ ।

जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने छ र कोषमा रकम वृद्धि भएसंगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी गरिएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैरसरकारी संस्थाबाट सेवासुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताए ।

जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पूर्व अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुरको बर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्बजनिक पदको सुबिधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम वनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिब गणेश दर्पण अधिकारीले जानकारी दिए ।

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपन, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने उनले बताए । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्घसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*