काउन्सिल र पत्रकारबीच हेटौंडामा आचारसंहिता बारे छलफल

बाइलाइन नेपाल
२२ मंसिर २०७७, सोमबार १९:०४

हेटौंडा । प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ मकवानपुरको संयोजनमा पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका बिषयकसम्बन्धी अन्तरक्रिया कार्यक्रम मकवानपुरको हेटौँडामा सोमबार भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ सहयोगी भूमिका निभाउँदै आएको भन्दै पत्रकारको पक्षमा काउन्सिलले गर्न सक्ने सहयोगको लागि हमेसा तयार भएको बताइन् । उनले कोभिड–१९ का कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग काउन्सिलले पहल गर्ने जानकारी दिँदै महामारीको समयमा पनि काउन्सिलले अनुगमनको कार्यलाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

मकवानपुरले धेरै राम्रा पत्रकार जन्माएको भन्दै उनले आगामी दिनमा मकवानपुरमा क्षेत्रीय स्तरको कार्यक्रम गर्न पहल गर्ने बताइन् । सामाजिक सञ्जाल काउन्सिलको दायरा भित्र नपर्ने भएकाले आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायसँग समन्वय गर्न सकिने सम्मको अधिकार मात्रै भएको जानकारि दिइन् ।

पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप बिष्टले प्रेस काउन्सिलको भूमिका फराकिलो बन्दै गएकाले आगामी दिनमा यस्ता कार्यक्रम भइरहनुपर्ने बताए । कोरोनाबाट सबैभन्दा बढी समस्या पत्रकारलाई आर्थिक रुपमा परेको भन्दै पत्रकारले पनि समाचारको विषयवस्तुअनुसार सधै एकैखालको भन्दा फरक एङ्गलबाट लेख्न सक्नुपर्ने उल्लेख गरे । अबको पत्रकारिता नयाँ धारबाट सुरु भएकोले थप परिमार्जित हुनुपर्ने उनको भनाई थियो ।

काउन्सिलकी मिडिया अनुगमनकर्ता सम्झना पौडेलले पत्रकार आचारसंहिता पत्रकारको मुल मन्त्र भएकाले यसैको अनुसरण गरी स्वस्च्छ पत्रकारिताको विकासमा पत्रकार लाग्नुपर्ने बताइन् । उनले प्रेस काउन्सिलले गर्ने कारबाही दण्ड र जरिवानामा नभएर नैतिक कारवाही हुने भएकाले आचारसंहिताको पूर्ण पालनामा ध्यान दिनुपर्ने उल्लेख गरिन् । काउन्सिलले महिला उत्तरदायी निर्देशिका, २०७६ जारी गरेको, प्रेस काउन्सिलका अध्यक्ष गोपाल बुढाथोकीको पहलमा महिला हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाएको र महिलाको गुनासो सुन्न फोकल पर्सन गठन भएको, अन्य समयमा समेत महिलाको विषयवस्तुलाई काउन्सिलले अनुगमन गर्ने गरेको दाबी गरिन् ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुबेदी, प्रेस संगठन वाग्मती प्रदेशका सहसंयोजक सुनिल खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाईं, महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिलका शाखा अधिकृत विष्णु लम्साल, प्रेस संगठनका केन्द्रीय सदस्य शिबकुमार काशी, पत्रकार महासंघ वाग्मती प्रदेशका सल्लाहकार गिरीजा अधिकारी, मकवानपुरमा रहेका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारले प्रेस काउन्सिलको भुमिका र काउन्सिलले गर्ने मिडिया अनुगमनक र त्यसको प्रभावकारीताको बारेमा चर्चा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*