बागमती प्रदेशमा प्रचण्ड–नेपालको बहुमत, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासपत्र तयार

बाइलाइन नेपाल
२२ मंसिर २०७७, सोमबार ०७:२९

नेकपाको नेतृत्व विवाद चर्किदै जाँदा बागमती प्रदेशमा समेत गुट गतिविधि बढेको छ । शुक्रबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् ।

पूर्वमाओवादीबाट अनेरास्ववियुका सहसंयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङ र नेपाल निकट सुदेश पराजुली, वसिम आलम लगायतको सक्रियतामा थापाथली क्याम्पसमा भेला आयोजना भयो ।

भेलालाई स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल, अखिलका पूर्वअध्यक्षहरु रामकुमार झाँक्री र लेखनाथ न्यौपानेलगायतले सम्बोधन गरे । यसअघि यो समूहका युवा तथा विद्यार्थी नेताहरुको काठमाडौंका विभिन्न ठाउँमा बैठक भयो भने पार्टी उपाध्यक्ष वामदेव गौतमसहित नेताहरुलाई समेत भेटे ।

यो प्रदेशमा प्रचण्ड र नेपाल समूहको जस्तै गुट भेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ पनि हुँदै आएको छ । प्रधानमन्त्रीकै सरकारीनिवास बालुवाटार र गौशाशास्थित मदन भण्डारी फाउण्डेसनको कार्यालय ओली समूहको गुट भेलाको केन्द्र बनेको छ ।

सामाजिक सञ्जाल र आम सञ्चार माध्यमहरुमा एकअर्का समूहविरुद्ध अभिव्यक्ति दिइरहेका नेताहरुले गरेको कार्यक्रममा अर्का समूहले अवरोध गर्नेसम्मको तहमा विवाद पुगेको छ ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा चितवनमा ओली पक्षका कार्यकर्ताले नाराबाजी नै गरे । मंसिर ७ मा चितवनमा आयोजित कार्यक्रममा पाण्डेले ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै ‘हुलहुज्जत’ भएको थियो । त्यसको भोलिपल्टै पोखरा पुगेर पाण्डेले नेपाल समूहको सभालाई सम्बोधन गरे ।

केन्द्रीय सदस्य लक्ष्मण लम्साल केन्द्रको विवाद तलसम्म पुर्‍याउने प्रयास बढेको बताउँछन् । ‘तर, अहिलेसम्म कार्यकर्ताले साथ दिएको छैन । विभाजनको पक्षमा कार्यकर्ता नदेखिएकाले गुट भेला गर्ने प्रयासले ठूलो रुप लिन सकेको छैन’, उनी भन्छन् ।

प्रचण्ड–माधव समूहले पार्टीकै मञ्च प्रयोग गरी गुटको गतिविधि गरिरहेको छ भने ओली पक्षले मदन भण्डारी फाउण्डेसनको ब्यानर प्रयोग गर्ने गरेको छ । फाउण्डेसनलाई वडा तहसम्म पुर्‍याउने गरी गतिविधि भइरहेको छ ।

भदौ २६ को स्थायी कमिटी बैठकले नेताका नाममा खुलेका गैरसरकारी संस्थाहरुकोे गतिविधिमा रोक लगाए पनि ओलीले नै फाउण्डेसनको गतिविधि नरोक्ने अडान लिएका छन् । कतिसम्म भने प्रचण्ड र सुरेन्द्र पाण्डेकै जिल्ला चितवनमा फाउण्डेसनलाई वडा तहसम्म पुर्‍याउने गरी गतिविधि भइरहेको फाउण्डेसनका जिल्ला अध्यक्ष तिलचन्द्र भट्टराईले बताए । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा त मदन भण्डारी स्पोट्र्स एकेडेमी समेत गठन भएको छ ।

गुटगत गधिविधिमा शीर्षनेताहरु नै सहभागी हुन थालेका छन् । मंसिर पहिलो साता बानेश्वरस्थित एक कलेजमा बागमती प्रदेशका अगुवा नेताहरुलाई माधव नेपालले नै संवोधन गरेका थिए ।

यसअघि, कात्तिक २२ मा उपप्रधानमन्त्री रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसहित सरकारका मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँलको सहभागितामा ओली पक्षका नेताहरुको भेला भयो । नेकपा काठमाडौं अध्यक्ष कृष्ण राईको संयोजनमा आयोजित भेलामा ओली पक्षका ६२ जिल्ला सदस्य सहभागी थिए ।

वागमती प्रदेशमा ओली पक्षबाट मुख्यमन्त्री निर्वाचित डोरमणि पौडेलकै विकल्पबारे समेत अर्को पक्षले तयारी गरेको छ । गत असारमा पौडेललाई हटाउन मुख्यमन्त्रीबाट प्रचण्ड र नेपाल समूहका ४२ सांसदले हस्ताक्षर गरेका थिए । तर, प्रचण्ड र नेपालकै दबावमा हस्ताक्षर गरेर तयार भएको अविश्वास पत्र रोकिएको छ । बागमतीको ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद छन् । यीमध्ये माधव नेपाल र प्रचण्ड पक्ष आपसमा मिल्दा ओली पक्ष अल्पमतमा पर्छ ।( अनलाइनखबर डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*