राक्सिराङमा पहिलोपटक डाक्टरद्वारा स्वास्थ्य सेवा

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार ११:४२

चेपाङ जातिको बाक्लो बसोबास रहेको मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा पहिलोपटक आवासीय रुपमा चिकित्सक (डाक्टर) उपलब्ध भएको छ ।

राक्सिराङ ५ चैनपुरमा रहेको स्वास्थ्य चौकीमा आवासीय रुपमा डाक्टर राख्ने व्यवस्था गरिएको हो । केहीदिन अघि मात्रै डाक्टर धनबहादुर खत्रीले स्वास्थ्य चौकीमा रही आवासीय रुपमा सेवा दिइरहनु भएको स्वास्थ्य संयोजक बिजय कापरीले बताउनुभयो ।

अहिले स्वास्थ्य चौकीमा रही स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनु भएका डाक्टर खत्रीलाई गाउँपालिकाले निर्माण गरिरहेको कोभिड अस्पतालका लागि करार सेवामा लिइएको हो । राक्सिराङको इतिहाँसमै पहिलोपटक डाक्टर उपलब्ध भएको र बिपन्न, जनजातिहरुले निःशुल्क सेवा पाइरहेको राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । कोभिड अस्पतालका लागि करारमा डाक्टरको नियुक्ति गरिएपनि भबिष्यमा कोभिड अस्पताललाई नै सामान्य अस्पतालमा रुपान्तरण गरी डाक्टरको दरबन्दी कायमै राखिने उहाँले जानकारी दिनुभयो ।

अहिले गाउँपालिकाले कोभिड अस्पतालका लागि धमाधम भवन निर्माण गरिरहेको छ । डाक्टरको उपलब्धता भएपछि राक्सिराङ गाउँपालिकाका बासिन्दा सामान्य उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, हेटौँडा र भरतपुरका महँगा अस्पताल जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

बिगतमा शिविर सञ्चालनका लागि केही दिन मात्रै डाक्टर आउने गरेको भएपनि अब निरन्तर रुपमा डाक्टरको सेवालाई राक्सिराङमा स्थायी गर्नेगरी पूर्वाधार तयार गरिएको उहाँले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिका साबिक ४ वटा गाउँ विकास समिति मिलेर बनेको दुर्गम क्षेत्रको गाउँपालिका हो । दुर्गम भएकै कारण स्वास्थ्यकर्मीहरु राक्सिराङ गाउँपालिका जान रुचाउँदैनन् ।
संघीयताले देशमा के परिवर्तन भयो भनेर आलोचकहरुले आलोचना गर्ने गर्दछन् । त्यसको जबाफ मकवानपुरको राक्सिराङले दिएको छ । चेपाङ, दलित र गरिवीको रेखामुनि रहेका समुदायका बीचमा डाक्टरको हातबाट उपचार पाउने व्यवस्था संघीयता कार्यान्वयनको एउटा नमूना भएको राक्सिराङ गाउँपालिकाको निष्कर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*