मकवानपुरको कैलाश गाउँपालिकाले थाल्यो कार्यालय भवन निर्माण

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार ०७:२१

मकवानपुरको कैलाश गाउँपालिकाको प्रशासकीय भवनको मंगलबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । जिल्ला समन्वय समितिको मौजदात कोषबाट २ करोड रुपैयाँ अनुदान प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

जिससबाट प्राप्त २ करोड र गाउँपालिकाको १ करोड १८ लाख ५३ हजार ९ सय २५ रुपैया गरि कुल ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ लागतमा २८ कोठे भवन निर्माणका लागि सिस्टमेटिक ईन्जिनीयरिङ एसोसियट कन्सल्टेन्सि प्राली काठमान्डौसंग सम्झौता भएर भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । मौक्तानका अनुसार आगामी २०७८ साल पुष ७ गते सम्पन्न गर्ने गरि भवन निर्माणको सम्झौता भएको छ ।

कार्यक्रममा उनले गाउँपालिकाका १० वटै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भएको अवस्थामा मुख्य प्रशासकीय भवन नहुँदा आएको समस्या अब समाप्त हुने बताए । अस्थाई भवनबाट सञ्चालित प्रशासकीय भवन समेत केहि समय अघि आगलागी भएर सम्स्या भईरहेको अवस्थामा भवन निर्माणका लागि जिससबाट प्राप्त सहयोग प्रति खुसी व्यक्त गर्दै आभार समेत व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्नुहुने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामलाल घलान, सिंगराम घलान र गोविन्द पाठकले जग्गा दान गरेका हुन् । कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवनका २ रोपनी साथै स्वास्थय चौकीकालागि सिंगराम घलानले ५ रापनी र गोविन्द पाठकले २ रोपनी जग्गा दान गरेका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*