वाग्मती प्रदेशकै विकट प्रहरी ईकाईको अनुगमनमा पुगे डिआइजी लामा

बाइलाइन नेपाल
२३ कार्तिक २०७७, आईतवार १८:५३

हेटौंडा । वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) बसन्त कुमार लामाले प्रदेशकै बिकट स्थानमा रहेको प्रहरी चौकीको निरीक्षण गरेका छन् । रसुवामा रहेको प्रहरी चौकी लाङटाङको निरीक्षण डिआइजी लामाले गरेका हुन् ।

१३ जनाको दरबन्दी निकासा भए पनि जनशक्ति अभावका कारण ४ जना मात्रै प्रहरी कर्मचारी कार्यरत रहेको उक्त प्रहरी चौकीमा प्रहरी नायव महानिरीक्षक दर्जाको प्रहरी कर्मचारीबाट प्रथम पटक अनुगमन भएको हो ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका–४ को क्षेत्राधिकार भएको प्रहरी चौकी लाङटाङ प्रदेशकै सबैभन्दा विकट स्थानमा रहेको प्रहरी ईकाईमा पर्ने वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए । २०६४ सालमा स्थापना भएको उक्त प्रहरी चौकीले हाल सम्म भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ ।

वाग्मती प्रदेश सरकारबाट उक्त चौकी निर्माणको लागि २ करोड ६४ लाख ४८ हजार ९ सय ८ रुपैयाँ बजेट निकासा भएपछि प्रहरी चौकीको कार्यालय भवन निर्माण शुरु भएको गिरीले जानकारी दिए । यातायातको साधन नजाने हुँदा निर्माण सामाग्री ढुवानीमा हुने कठिनाई र वर्तमान संक्रमण जोखीमका ढिलोगरी निर्माण सुरु भएको प्रहरी चौकीको निर्माण कार्यलाई जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने सम्बन्धमा प्रदेश प्रहरी प्रमुख लामाले निर्माण सम्झौता पाएको निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयहरुसंग अन्तर्क्रिया गरेका थिए । वाग्मती प्रदेश सरकारबाट यस प्रदेश अन्तर्गतका ४७ वटा प्रहरी ईकाई निर्माणको लागि बजेट निकासा गरेको थियो ।

प्रहरी नायव महानिरीक्षक लामाले उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनको क्रममा भौगोलिक बिकटताका कारण आफुले दैनिक भोगिरहेको समस्यालाई भन्दा पर्यटकीय क्षेत्रमा अवस्थित चौकीमा रहेर नागरिकको सेवामा अहोरात्र खटिएका प्रहरी कर्मचारी प्रशसाको पात्र भएको उल्लेख गर्दै यस्तो रमणीय पर्यटकीय क्षेत्रमा सेवा गर्ने अवसर सबै प्रहरी कर्मचारीले नपाउने तथ्यलाई मनन गरी आफुलाई तोकिएको जिम्मेवारी त्रुटीपूर्ण तवरले सम्पादन गर्न निर्देशन दिएका छन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक लामाले रसुवा जिल्ला अन्तर्गत निर्माणाधिन सिमा प्रहरी चौकी टिमुरेको कार्यालय भवनको समेत निरीक्षण गरे । अनुगमनको क्रममा प्रदेश प्रहरी प्रमुखका साथै प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी लगायतका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*