भीमफेदी बालगृहका बालबालिकाले मनाए दशैँ

बाइलाइन नेपाल
११ कार्तिक २०७७, मंगलवार १७:२४

भीमफेदी बालगृहका बालवालिकासँग भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र जिल्ला बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरले दशैँ मनाएका छन् । बालगृहमा रहेका बालवालिकालाई टिका, जमरा लगाइदिएर बालवालिकासँग उनीहरुले दशैँ मनाएका हुन् । २०५७ सालमा स्थापना भएको बालगृहमा हाल ६ देखि १७ वर्ष उमेर समुहका ३५ जना बालवालिका रहेका छन् । उनीहरु कक्षा १ देखि १० सम्म भीमफेदीका बिभिन्न विद्यालयमा अध्ययन गर्छन् ।

सरकारले बालगृह स्थापना गरेपनि गैह्र सरकारी संस्थाको भरमा बालगृह सञ्चालन हुँदै आएको छ । ललितपुरस्थित गैह्र सरकारी संस्था चिल्ड्रेन होमले लामो समयदेखि बालगृह सञ्चालनमा सहयोग गर्दै आएको छ । सरकारले बालगृहहरु ब्यवस्थित गर्न जिल्ला बालसंगठनहरु पुर्नगठन गरेपछि भने यस्ता बालगृहहरुले पुर्नजीवन पाउने अपेक्षा गरिएको छ । ‘मेरो पदभार ग्रहण हुन पनि बाँकी छ,यसलाई अब कसरी ब्यवस्थित गरी सरकारी स्तरबाटै सञ्चालन गर्न सकिन्छ तीनै तहको सरकारसँग समन्वय गरेर काम गर्छौ’, जिल्ला बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरले भने ।

 

जिल्ला बाल संगठनसँग सहकार्य गरी बालगृहलाई ब्यवस्थित गर्दै देशभरका अभिभावक बिहीन बालवालिकालाई आश्रय र पठनपाठन गराउने केन्द्रको रुपमा विकास गर्ने योजना रहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । राणा र राजाहरुको समयमा काठमाण्डौंबाट तराई जाने र आउने क्रममा सरकारी उच्च ओहदाका ब्यक्तिहरु बस्ने केन्द्र रहेको बालगृहको नाममा करिब डेढ बिगाह जमिन र भौतिक संरचना रहेको बालगृहका कार्यालय प्रमुख सुरेन्द्र सापकोटाले बताए । बालगृह सञ्चालनको सरकारले तोकेको ३९ वटा सुचक मध्ये अधिकांस सुचक यो बालगृहले पुरा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*