मकवानपुरमा आज दुई जनाको मृत्यु

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार १२:०९

हेटौंडा । हेटौंडा–५ बस्ने ३३ वर्षीया कोरोना संक्रमित गर्भवती महिलाको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो ।

उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेकोमा भरतपुर अस्पतालले दुःख ब्यक्त गरेको छ ।

यस्तै, घरमा बत्तिको प्लक मिलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० भाल्टारका ४८ बर्षीय जिवन मोक्तानको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराती करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*