भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना

बाइलाइन नेपाल
२३ आश्विन २०७७, शुक्रबार १६:०५

हेटौंडा । वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना गरिएको छ । कार्यालयको आज प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले उद्घाटन गरेका छन् । हेटौंडामा स्थापना गरिएको कार्यालयलाई सम्पर्क कार्यालय भनिएको छ ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री फुँयालले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण हुने बताए । उनले मदन भण्डारी मार्ग अन्तर्गत मकवानपुरको भैंसेदेखि भीमफेदी – सिस्नेरी – दक्षिणकालीहुँदै काठमाडौंको बल्खुसम्मको ६५ किलोमिटर सडकको विस्तारको काम पनि द्रुतगतिमा भइरहेको जानकारी दिए । उनले ५० करोडको लागतमा भैसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको उल्लेख गरे । सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुँयालले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुयाउने दाबी गरे ।

मन्त्रालयका सचीव सञ्जिव बरालले सुरुङमार्ग निर्माणले दीर्घकालीनरुपमा देशलाई फाइदा पुर्याउने धारणा राखे । उनले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यस आयोजना कसैको पनि हित विपरीतत नभएको दाबी गरे । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नुपर्ने छ ।

सुरुङमार्ग निर्माणका लागि १८ अर्ब ७ करोड खर्चहुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुईसुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामा र १५ र ७ मिटर फराकिला दुर्ई वटा सुरुङ निर्माण गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*