थाहा नगरपालिकाको कामः विपन्न किसानलाई रोजीरोजी भैँसी उपहार !

बाइलाइन नेपाल
१७ आश्विन २०७७, शनिबार १२:११

हेटौडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– १२ स्थित जगडाँडाका किसानले जसोजतो गोठ बनाए पनि भैँसी नहुँदा दिक्क थिए । एक वर्षअघि गोठ तयार पारेका उनीहरूसँग भैँसी किन्ने ल्याकत थिएन । एउटा भैँसीको एक लाखभन्दा बढी मूल्य पर्ने भएपछि रित्तो गोठ हेर्दै मन थामेका किसान अहिले दिनभर भैँसीको स्याहारमा व्यस्त छन् । थाहा नगरपालिका कार्यालयले किसानलाई अनुदानमा रोजेरै भैँसी दिएपछि उनीहरूको दिनचर्या फेरिएको छ ।

चालू आर्थिक वर्ष ०७७र७८ को सुरुवातमै थाहाले विपन्न किसानलाई रोजेरै भैँसी उपलब्ध गराउने योजना अघि सारेपछि अहिले जगडाँडाको मगरबस्तीमा जीविकोपार्जनसमेत सहज बनेको छ । थाहाले भैँसी उपलब्ध गराएपछि जीविकोपार्जन मात्र होइन, दिन बिताउनसमेत सहज भएको जगडाँडाका किसान कृष्णबहादुर आले मगर बताउँछन् । भैँसी पाएपछि दैनिक सात लिटर दूध बेचेर बिहान–बेलुकाको छाक टार्न समस्या नभएको उनको भनाइ छ ।

कृष्ण बहादुरसँगै भैँसी पाएका अर्का किसान हुन्– प्रेमबहादुर आलेमगर । जग्गा कम भएका कारण तरकारी मात्र बेचेर जीवन धान्नसमेत धौधौ परेको दुखेसो गर्ने आफ्नो परिवारमा अहिले जीविकोपार्जनमा कुनै समस्या नभएको उनको भनाइ छ। थाहाले नगरपालिकाले २५ प्रतिशत अनुदान उपलब्ध गराउने गरी किसानको २५ प्रतिशत लगानी र कृषि विकास बैंक लिमिटेडको समन्वयमा पाँच प्रतिशत ब्याजदरमा ५० प्रतिशत कर्जा दिँदै २० जना किसानलाई भैँसी किनिदिएको हो । मगरबस्तीका २० जना किसानलाई धादिङबाट राजेरै भैँसी दिएको थाहा नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

एकवटा भैँसीको एक लाख ४० हजारका दरले २० वटा भैँसी खरिद गर्न नगरपालिकाले नौ लाख अनुदान रकम छुट्याएको विष्टले बताए । विपन्न किसानका लागि एउटा भैँसी मात्र भए पनि सामान्य जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यका साथ यस्तो योजना अघि सारिएको उनको दाबी छ । ‘नगरपालिकाले शतप्रतिशत अनुदान दिँदा किसानलाई अपनत्व महसुस नहुने र भैँसीको रेखदेखमा धेरै चासो नराख्ने हुँदा हामीले किसानको लगानीलाई प्राथमिकता दिएका हौँ,’ उनले भने, ‘आगामी वर्षदेखि अनुदानको दर अझै बढाएर किसानलाई भैँसी उपलब्ध गराइनेछ ।’ साभारः नयाँ पत्रिकाडेली डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*