मकवानपुरमा प्याब्सन र इस्टु बीच सहमति, ताला खोलिने, आन्दोलन फिर्ता

बाइलाइन नेपाल
२६ भाद्र २०७७, शुक्रबार २०:००

हेटौँडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरको कार्यालयमा लगाइएको ताला बिना सर्त खोल्ने सहमति भएको छ । निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुको संस्था इस्टुले केही दिनअघि प्याब्सनको कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनको घोषणा गरेको थियो । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको उपस्थितिमा बसेको निजी विद्यालय सञ्चालक, शिक्षक तथा सरोकारवालाको बैठकमा तालाबन्दी खुला गर्ने र सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।

बैठकमा अनलाइन कक्षा सञ्चालन नगर्न र शुल्क समेत नउठाउन सरकारले निर्देशन गरेपछि निजी विद्यालयका शिक्षकहरुलाई तलब दिन नसकिने प्याब्सनको सूचनालाई गलत ब्याख्या गरिएको धारणा प्याब्सनका तर्फबाट प्रस्तुत भएको थियो । अनलाइन कक्षाको शुल्क लिन पाउनुपर्ने माग गर्दै आएको प्याब्सनले सरकारले शुल्क नलिन दिएको निर्देशन फिर्ता लिन दबाब दिँदै शिक्षकहरुलाई तलब दिन नसकिने भन्दै सार्बजनिक सूचना गरेपछि इस्टु आन्दोलित भएको हो ।

तर, शिक्षकलाई तलब दिन नसकिने बिषयसँग जोडिएको सार्बजनिक सूचनाले इस्टुसँग सरोकार राख्नुभन्दा पनि सरकारले अनलाइन कक्षाको शुल्क लिने वातावरण बनाओस् भन्ने हेतुले सबै विद्यालयका सञ्चालकहरुले दबाब स्वरुप सार्बजनिक सूचना जारी गरेको प्याव्सनिष्टहरुले बैठकमा स्पष्ट पारेका थिए । सोही सूचनालाई गलत अर्थ लगाएर इस्टु सम्बद्ध शिक्षकहरु आन्दोलनमा आएको र केही व्यक्तिले व्यक्तिगत लाञ्छना लगाएर सामाजिक सञ्जालहरुमा निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरु बिरुद्ध आपत्तिजनक अभिब्यक्ति समेत दिएका थिए ।

बैठकले प्याव्सनले जारी गरेको सूचना इस्टु, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्बद्ध पक्षमा परेको भ्रमप्रति इस्टु र प्याब्सन आत्मालोचित हुने निर्णय गरेको छ । त्यसैगरी सामाजिक सञ्जालहरुमा एकापसमा मान मर्दन हुने गरी गरिएका टिप्पणीहरुप्रति आत्मालोचना गर्ने र आइन्दा त्यस्तो व्यवहार नदेखाउने प्रतिबद्धता जनाइएको छ । अनलाइन शुल्क उठाउन नपाउँदा तलब दिन नसकिने भनी प्याब्सनले गरेको सार्बजनिक सूचनाका कारण शिक्षक बर्गमा पर्न गएको मानमर्दनप्रति पनि प्याब्सनले बैठकमा क्षमा मागेको छ । अन्य सेवा शुल्क र तलब लगायतका बिषयहरु केन्द्रिय नीति बमोजिम नै हुने गरी प्याब्सन र इस्टुबीच समझदारी भएको छ ।

निजी विद्यालय सञ्चालक र निजी विद्यालयका शिक्षकहरुबीचको द्वन्द्वका कारण शिक्षक, सञ्चालक, अभिभावक तथा विद्यार्थीहरुमा परेको मानसिक तनाव सम्बद्ध संस्था, व्यक्ति तथा प्रतिनिधिहरुबीचको बैठकबाटै हल गरिएको हेटौँडा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक अनिल बानियाँले बताउनुभयो ।

बैठकमा हेटौँडा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक अनिल बानियाँ प्याब्सनका जिल्ला सचिव नवीन केसी, नगर अध्यक्ष राजकुमार नहर्की, इस्टुका संवाद समिति संयोजक श्यामकृष्ण ज्ञवाली, नेपाल शिक्षक महासंघका अध्यक्ष जीधराज ढकाल, नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष ध्रुवप्रसाद चौलागाई, इस्टुका नगर अध्यक्ष सीएम रिमाल, जिल्ला अध्यक्ष सचिन लामा लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*