मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल

बाइलाइन नेपाल
२६ भाद्र २०७७, शुक्रबार १८:४८

मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँकार्यपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गरिएको छ । गाउँपालिका कार्यालय रहेको चैनपुर क्षेत्रका चार जना स्थानीय र बैंक अफ काठमाडौंका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि सिल गरिएको हो । कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गरिएको जानकारी दिएको छ ।

२२ भदौमा संकलन गरिएको स्वाबको हेटौँडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूलाई कोरोना देखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । चैनपुर क्षेत्रको समुदायस्तरमा संक्रमण फैलिन सक्ने भएकोले सिल गरिएको बताए ।

चैनपुरमा रहेका बैंक तथा अन्य वित्तीय संस्था, सामाजिक संघ संस्थालगायत होटेल तथा पसलहरू २ असोजसम्म बन्द गर्ने आचार्यले जानकारी दिएका छन् । गाउँपालिकाले संक्रमितको सम्पर्कमा आएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरूले तत्कालै गाउँपालिकाको स्वस्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

गाउँकार्यपालिका कार्यालय, सबै वडा कार्यालयबाट अब अत्यावश्यक र विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । चैनपुर क्षेत्रमा ५० देखि ६० घर परिवार बसोबास गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*