झरना साहित्यिक परिवारको भवन बनाउन बकैया गाउँपालिकाले दियो जग्गा

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार २१:०५

हेटौंडा । मकवानपुरको छतिवनमा गठन भई जिल्ला भरी साहित्यिक क्षेत्रमा क्रियाशिल झरना साहित्यिक परिवारलाई बकैया गाउँपालिकाले एक कठ्ठा जग्गा दिने भएको छ । बुधबार बकैयामा बसेको सर्वपक्षिय बैठकमा गाउँपालिकाले झरनालाई भोगाधिकारको अधिकारसहित एक कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

बकैया गाउँपालिका– ४ को कार्यालयमा बसेको बैठकले बकैया गाउँपालिकाको गौरवको रूपमा रहेको झरना साहित्यिक परिवार मकवानपुरको कार्यालयसहित व्यवस्थित सभाहल तथा पालिकासँगको सहकार्यमा पुस्तकालयसमेत स्थापना गर्ने प्रयोजनका लागि बकैया–४ जुरेलीस्थित हाटबजारको उत्तरपट्टि रहेको अन्दाजी १ कठ्ठा जग्गा झरनाले नै स्थायी भोगाधिकार समेत प्राप्त गर्ने गरी उपलब्ध गराउने निर्णय गरेको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

झरनाको आयोजनामा बकैया गाउँपालिका अध्यक्ष एवम् झसाप सल्लाहकार दामोदर खनाल को प्रमुख आतिथ्य तथा बकैया गाउँपालिका– ४ का अध्यक्ष राजन दङ्गालज्यू तथा बकैया गाउँपालिका–७ का अध्यक्ष रामकाजी लामिछाने विशेष आतिथ्य एवम् बकैया गाउँपालिकाका सम्पूर्ण राजनीतिक दलका नेतृत्वकर्ता समाजसेवी व्यक्तित्वका साथै झसाप सल्लाहकारहरूको विशेष उपस्थितिमा बसेको थियो ।

गाउँपालिका अध्यक्ष खनालले अन्य क्षेत्रको विकाससँगै कला, साहित्य र संस्कृतिको संरक्षण र विकासमा पनि गाउँपालिका सचेत रहेको बताए । झरनालाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले जग्गासँगै झरनाको भौतिक विकासका लागि पनि गाउँपालिकाले काम गर्ने जानकारी दिए ।

गाउँपालिकाले जग्गा दिने निर्णय गरेपछि झरनाका अध्यक्ष गौतमले बकैया गाउँपालिकाका अध्यक्ष खनाल, उपाध्यक्ष सरला बोलखे, बकैया–४ अध्यक्ष दङ्गालसहित उपस्थित सम्पूर्ण राजनीतिक दलका नेतृत्वमा आभार व्यक्त गरेका छन् । निर्णयले सिङ्गो झसापलाई उत्साहितसँगै थप जिम्मेवारीबोधसमेत गराएको बताए ।

उनले बकैया गाउँपालिकालाई लेखन र पठन संस्कृतिको विकासका साथ साहित्यका माध्यमबाट सभ्य, सकारात्मक एवम् सिर्जनशील नयाँ पुस्तासहितको गाउँपालिकाको रूपमा निरन्तर चिनाउन झरना लाग्ने प्रतिवद्धता जनाए । जग्गा प्राप्तिसँगै छिट्टै नै भवन निर्माण कार्यले समेत पूर्णता पाउने अपेक्षा अध्यक्ष गौतमको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*