हेटौंडामा निःशुल्क खाना खुवाउन सुरु, बुधबार २ सय जनाले खाए खाना

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार १९:१८

भोको पेटले भौँतारिएका श्रमजीवी र विपन्नलाई हेटौँडामा निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना महामारीका कारण कामविहीन भएका विपन्न तथा श्रमिकहरूलाई हेटौँडा–४, हुप्रचौरमा सामूहिक भोजन गराइएको हो । हेटौँडाकै सामाजिक परोपकारमा पनि सक्रिय रहने परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले भोकाहरूलाई भोजन गराएको छ ।

भोकाहरूलाई मदन भण्डारी फाउन्डेसनले रासन वितरण गरे पनि यसअघि समूहिक रूपमा खाना खुवाउने कार्यको सुरुवात भएको थिएन । बुधबार करिब २ सय जनाले खाना खाएको आयोजकहरूले जानकारी दिएका छन् । हेटौँडा उपमहानगरपालिकाभित्रको हटिया, पदमपोखरी, मकवानपुरगढी गाउँपालिका घर भएका श्रमिकहरूले खाना खाएका छन् ।

निर्माण कार्यमा खटिने मजदुरहरूले खाना खाएको फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए । उनीहरूलाई छाक टार्न खाना मात्रै होइन, काम पनि दिइने भएको छ । हेटौँडाको मध्यभागमा रहेको खुलाचौर हुपलाई सरसफाइ गर्ने काम मजदुरलाई दिइने लामा बताउँछन् । उनले चौरको सरसफाइ गरेबापत ज्याला दिने बताए ।

प्रतिष्ठान र संघले करिब ७ दिनसम्म श्रमिक तथा विपन्नहरुलाई लक्षित गर्दै निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरेको हो । तर, सहयोग हातहरुले रासन उपलब्ध गराएको अवस्थामा भने खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइने संघका अध्यक्ष लामाले बताए ।

‘हामीले ७ दिनसम्म खाना खुवाउने भनेका छौँ । तर, सहयोग प्राप्त भए यसलाई निरन्तरता दिन्छाैँ,’ लामाले भने । हरेक दिन बिहान १० बजेदेखि २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइने भएको छ । दैनिक बिहानको छाक खाना खुवाइने प्रतिष्ठानले जनाएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण जनजीवन ठप्प हुँदा मजदुर वर्गलाई छाक टार्ने मुस्किल परिरहेको छ ।

‘चिया भेट’ ले बुनेको योजना

मंगलबारको दिन, हेटौँडाकै एउटा चोकमा युवाहरुले भेट गर्ने योजना बनाए । भेटको उद्देश्य चिया खानु थियो, अर्थात् ‘चिया भेट’ । प्रतिष्ठानका सन्तोष गौतम, संघका अध्यक्ष लामासहितको समूहले भेटकै क्रममा एउटा भिडियो हेरिरहेको थियो । काठमाडौंमा खाना खान नपाएर छट्पटाइ रहेकाहरूको कथा समेटिएको भिडियो थियो ।

भिडियोले मन छोएपछि हेटौँडामा पनि श्रमिकहरूलाई प्राथमिकतामा राखेर खाना खुवाउने योजना युवाहरूले बनाएका हुन् । ‘हामीले भिडियो हेर्‍यौँ, खाना खान नपाएर एक जना रोइरहेका थिए । त्यसपछि हामीले हेटौँडामा पनि खाना खुवाउने योजना बनाएका हौँ,’ अध्यक्ष लामाले भने । यसरी युवाहरूको चिया भेटले नै मजदुर वर्गको छाक टारेको छ ।

‘काठमाडौंमा काम नहुँदा छाक टार्ने मुस्किल भएकाहरू धेरैलाई खाना खुवाएको हामीलाई थाहा थियो । यस्तो विषम परिस्थितिले विपन्नहरूलाई कति समस्या परिरहेको छ भन्ने कुरा हामीले बुझेर नै यो कार्यक्रम गरेका छौँ,’ उनले थपे । खान नपाएर समस्यामा परेकाहरूलाई हुप्रचौर आउन आयोजकले आग्रह पनि गरेको छ ।

काम खोज्न बजार चहार्छन् मजदुर

हेटौँडाको बुद्धचोकमा दैनिक बिहान निर्माण कार्यमा खटिने मजदुरहरूको बाक्लो उपस्थिति हुन्थ्यो । बुद्धचोकबाटै ठेकेदारहरूले मजुदरहरूलाई दैनिक ज्यालादारीमा लैजाने गरेका थिए ।

त्यो क्रम चैतदेखि रोकिएको छ । कोरोना महामारीको कारणा सरकारले लकडाउन गरेपछि मजदुरहरू बुद्धचोकमा आउन पाएनन् । ‘हामीलाई बुद्धचोकबाटै ठेकेदारले ज्यालादारीमा काम गर्न लैजान्थे । दिनभरि काम गरेपछि फर्किने बेला पैसा लिएर आउँथ्यौँ,’ कालु मोक्तान भन्छन् ।

त्यही दैनिक ज्यालादारीको पैसाले छाक टार्ने गरेको उनले सुनाए । मोक्तानले काम गरेर छाक टार्न हम्मेहम्मे परेको पाँच महिनाभन्दा बढी भयो । ‘अहिले बजारमा काम खोज्न हिँड्ने गरेको छु । व्यक्तिको घरमा जस्तो पनि काम गर्न परेको छ । मसँग धेरै साथीहरू यसरी काम खोज्दै हिँड्ने गरेका छन्,’ उनले भने ।

मोक्तान प्रतिनिधि पात्र मात्रै हुन् । कोरोनाको कारण काम नपाउँदा सबै मजदुर समस्यामा परेका छन् । कतिपयको बास बस्ने टुंगो समेत छैन् । हेटौँडाका अधिकांश मजदुरहरू राहतबाट पनि वञ्चित भएका छन् । कतिपयले राहत पाएर पनि पकाएर खान सकेका छैनन् । -शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*