हेटौँडामा सार्वजनिक सवारीसाधनलाई रोक,निजीलाई जोरबिजोर, खाद्यान्न ९ बजेसम्ममात्र (प्रशासनको निर्णयसहित)

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार १८:३७

हेटौँडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि निषेधाज्ञा जारी गरेको प्रशासनले खुकुलो बनाउँदै लगेको हो ।

हेटौंडाको मुख्यबजार क्षेत्रलाई लक्षित गर्दै प्रशासनले भदौ २६ गतेदेखि असोज ५ गतेसम्मलाई निषेधाज्ञा थप खुकुलो बनाएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भदौ २४ गतेको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालयले असोज ५ गतेसम्मलाई हेटौंडा बजार क्षेत्र दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी निर्देशनमा खाद्यान्न, तरकारी र दूधजन्य पदार्थको बिक्री गर्ने पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने उल्लेख छ । ति बाहेकका अन्य पसल व्यवसाय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने र यसको संयोजन मकवानपुर उद्योग वाणिज्य संघले गर्ने जनाइएको छ । यस्तै बैंक तथा वित्तिय संस्थाहरुपनि बिहान १० बजेदेखि ३ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।

जिल्ला भित्रका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने नीजि सवरीलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । सहकारीको हकमा भने फिल्डमा कर्मचारी जान नपाउने भएका छन् । उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा सम्वन्धित उद्योगले सो उद्योग परिसरमा श्रमिक तथा कर्मचारी राख्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरि होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरिने तर टेक वे सेवा भने बिहान १० बजेबाट ३ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ ।

सरकारी कार्यालयबाट अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जनाइएको छ । संघसंस्थाबाट हुने जनसम्पर्कका सबै कार्यक्रम बन्द गरिएको छ । कृषि र पशुपंक्षी व्यवसायमा उत्पादनदेखि बिक्रीवितरणसम्म गर्न पाउने व्यवस्था गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*