परेवाभीर खण्डमा सडक बनाउन सांसद खतिवडाले ल्याए दुई करोड
मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अबरोध मानिएको परेवाभीर खण्डमा व्यवस्थित सडक निर्माणका लागि संघीय सरकारको तर्फबाट दुई करोड रुपियाँ बिनियोजन भएको छ ।
मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा परेवाभीर खण्डको सडक निर्माणका लागि अर्थ मन्त्रालयले २ करोड रुपियाँ बिनियोजन गरेको हो । मन्त्रालयले परेवाभीर खण्डमा बाटो बनाउनका लागि राक्सिराङ गाउँपालिकाका लागि ससर्त अनुदानको रुपमा २ करोड रुपियाँ उपलब्ध गराउने भएको हो । आधिकारिक पत्र लेखेर मन्त्रालयले राक्सिराङ गाउँपालिकाले ससर्त अनुदानको रुपमा रकम उपलब्ध गराउने ग्यारेन्टी गरेको सांसद बिरोध खतिवडाले जानकारी दिनुभयो ।
६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने परेवाभीर खण्ड निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक बर्षमा बजेट कार्यान्वयन हुने गरी बहुबर्षीय ठेक्का आह्वान गरिसकेको छ । अब थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएपछि परेवाभीर खण्ड अर्काे आर्थिक बर्षसम्ममा निर्माण भइसक्ने अपेक्षा गरिएको छ ।
मनहरी–मलेखु जोड्का लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै नयाँ सडकको परिकल्पना गरिएको छ । प्रदेश सरकारले पनि यो खण्डलाई पुष्पलाल चक्रपथ नाम दिएर बजेट बिनियोजन गरेको छ । तर, परेवाभीर खण्डमा बजेट हाल्न नसकिने भएकाले बिकल्प खोजिने भन्दै प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले सार्बजनिक अभिव्यक्ति दिएपछि विवाद बढेको थियो ।
सो क्रममा सकेसम्म प्रदेश सरकारले नै यो खण्ड टुंग्याउनुपर्ने र आवश्यक पर्ने रकम संघीय सरकारबाट व्यवस्थापन गर्ने आश्वासन सांसद खतिवडाले दिनु भएको थियो । सोही बमोजिम अर्थ मन्त्रालयबाट बजेट व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।-साभारः मनहरीलाइभ डटकमबाट