हेटौँडामा कार्यरत ५३ जना प्रहरीलाई कोरोना

बाइलाइन नेपाल
१९ भाद्र २०७७, शुक्रबार १५:४३

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाभित्र कार्यरत ५३ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित प्रहरीमा दुई जना मात्रै महिला र बाँकी सबै पुरुष छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेका थुनुवाबाट प्रहरीमा संक्रमण फैलिएको आशंका छ ।

थुनुवा नाै जनालाई यसअघि नै संक्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी र लागूऔषध ओसारपसारमा संलग्न थुनुवालाई संक्रमण भएको हो । बागमती प्रदेशको प्रदेशसभाका मर्यादापालक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयलगायतका कार्यालयमा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत मात्रै २१ जना प्रहरीलाई संक्रमण देखिएको रानाले बताए । प्रदेशसभाका मर्यादापालक २, प्रदेश प्रहरी कार्यालयका ३, जिल्ला प्रहरी कार्यालयका २१, दंगा प्रहरी नियन्त्रण गणका १, अख्तियारका १, बसपार्क प्रहरी चौकीका ६, प्रहरी चौकी भुटनदेवीका १, अस्थायी प्रहरी चौकीका ५, सामुदायिक प्रहरी सेवा केन्द्र, बसापार्कका १, वडा प्रहरी कार्यालयका २, बाल सुधार केन्द्रका १, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका १, पशुपतिनगरका २ जना तथा अन्य प्रहरी युनिटहरूमा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

मकवानपुरका प्रहरी प्रवक्ता रानाका अनुसार हालसम्म २८ जना प्रहरीले कोरोनालाई जितेका छन् । उनीहरू ड्युटीमा पनि खटिएको उनले बताए । ‘संक्रमित ५३ प्रहरीमध्ये २८ जनाले कोरोना जितेका छन् । उनीहरु सबै ड्युटीमा पुनः खटिइसकेका छन्,’ रानाले भने । बाँकी संक्रमित प्रहरी स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा आइसोलेसन वार्ड र सेल्फ आइसोलेसनमा उपचाररत छन् ।

मकवानपुरमा ६ सय ३३ जना प्रहरी कार्यरत छन् । हेटौँडा उपमहानगरपालिकाभित्र मात्रै २ सय ६५ जना प्रहरी खटिनेछन् । धेरै प्रहरीलाई कोरोना संक्रमण भएपछि सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालनमा समस्या भएको राना बताउँछन् । संक्रमणपछि प्रहरी आइसोलेसनमा गएपछि दंगा प्रहरी नियन्त्रण गणबाट सहयोग मागिएको उनको भनाइ छ । -साभारः शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*