मकवानपुरमा ५७६ जना पुगे कोरोना संक्रमित

बाइलाइन नेपाल
१७ भाद्र २०७७, बुधबार १८:४५

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निषेधाज्ञा जारी गरेपनि मकवानपुरमा संक्रमितको संख्यामा कमी आउन सकेको छैन । मंगलबारबाट प्रशासनले निषेधाज्ञा केही खुकुलो बनाएपनि संक्रमित थपिने क्रम जारी रहेको छ ।

मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ५७६ जना पुगेको छ । बुधबार २१ जना संक्रमित थपिएसँगै मकवानपुरमै स्थायी रुपमा बसोबास गर्ने संक्रमितको संख्या ५७६ पुगेको हो । बुधबारको रिपोर्टमा एकजना बारा जिल्लाका रहेका छन् । मकवानपुरका १० वटा स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिकामा धेरै संक्रमित देखा परेका छन् ।

हेटौँडामा २४ घण्टाभित्र २२ जना संक्रमित थपिएका छन् । हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा आज बुधवार गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । हेटौँडा उपमहानगरपालिकाभित्रका २० जना, मकवानपुरगढी–३ बस्ने १ जना र बारा स्थायी ठेगाना भई मकवानपुरमा बस्दै आएका १ जनालाई संक्रमण देखिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । १५ भदौमा १ सय ४० जनाको स्वाब कोरोना परीक्षणको लागि लिइएको थियो ।

संक्रमित २२ जनामध्ये हेटौँडाका ७ जना महिला, १३ जना पुरुष संक्रमित छन् । मकवानपुरगढी र जिल्ला बाहिर ठेगाना भएका २ जना पनि पुरुष रहेको कर्रा आइसोलेसनका इञ्चार्जसमेत रहेका चौलागाईंले बताए । संक्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताएका छन् ।

जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौँडा उपमहानगरपालिकाभित्रका छन् । हेटौँडाको समुदायस्तरमा नै संक्रमण फैलिएको छ । मकवानपुरका हेटौँडा बाहेक ९ स्थानीय तहमा भने संक्रमितको संख्या न्यून छ । यसबाहेक मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*