बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त

बाइलाइन नेपाल
१६ भाद्र २०७७, मंगलवार ०९:१५

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेका बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिइन् ।

उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरूको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु,’ उपसभामुख तामाङले भनेकी छन् ।

तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताउँदै सङ्क्रमण भइहालेमा आतङ्कित नभई स्वास्थ्यसम्बन्धी आवश्यक  विधिहरू अवलम्बन गरिनुपर्ने उल्लेख गरेकी छन् ।

‘मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु,’ उपसभामुख तामाङले भनेकी छन् । उपसभामुख तामाङ र उनको छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरू १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*