सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक, बजार बिहान १० बजेसम्म खुल्ने

बाइलाइन नेपाल
१५ भाद्र २०७७, सोमबार १०:५०

हेटौंडा। मकवानपुरको चार वटा स्थानीय तहमा गत साउन २६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिकामा लगाएको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा हटाएर केही खुकुलो बनाएको छ । निजी सवारीसाधन सञ्चालन, बैक सञ्चालन, बजार बिहान १० बजेसम्म सञ्चालनलगायतका निर्णय जिल्ला प्रशासनले गरेको छ । सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्यलगायतका अतिआवश्यक बस्तु खरिद गर्न  बिहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको छ । १० बजेपछि औषधि बाहेकका सम्पूर्ण पसल बन्द गरिने भएको छ ।

त्यसैगरी बैठकले जिल्लाभरका वित्तिय संस्था, बैँकहरु बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।आवश्यक कामका लागि सर्वसाधारणलाई निजी सवारी साधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको गर्तौलाले बताए ।

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वहरुको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्न लगायत विभिन्न सामग्रीहरु लोड अनलोड गर्न बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म समय निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*