मकवानपुरका २६७ संक्रमितले जिते कोरोना

बाइलाइन नेपाल
१४ भाद्र २०७७, आईतवार १६:२१

बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । प्रदेश राजधानी हेटौँडाको समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ ।गत साउन अन्तिम सातादेखि मकवानपुरमा संक्रमितको संख्या अत्यधिक बढेको हो । केही समय संक्रमितलाई राख्न आइसोलेसन वार्डमा बेड नै अपुग पनि भयो ।

हतार–हतार प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–६ गौरिटारमा १ सय २० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको थियो । हेटौँडामा २ वटा आइसोलेसन सञ्चालनमा भएपनि संक्रमित घरमै बस्न बाध्य छन् । १ सय भन्दा बढी संक्रमित होम आइसोलेसनमै स्वास्थ्यकर्मीको निगरानीमा उपचाररत छन् ।

नियन्त्रणभन्दा बाहिर गएको कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले अनेक प्रयास गरे पनि सफल भने भएको छैन् ।संक्रमित बढेपछि हेटौँडासहित मनहरी, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा १५ भदौसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञा गरेर संक्रमणलाई नियन्त्रण गर्ने प्रयास गरिए पनि यसले सार्थकता पाउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । मकवानपुरमा संक्रमितको संख्या ४ सय ७२ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका मध्ये २ सय ६७ जनाले कोरोनालाई पारास्त गरिसकेका छन् । जनस्वास्थ्य कार्यालय हेटौँडाका अनुसार जिल्लामा पुष्टि भएकामध्ये हालसम्म २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका हुन् । हाल आइसोलेन वार्ड र होम आइसोलेसन गरी २ सय १ जना उपचाररत रहेको जनाइएको छ ।

यसैगरी आइसोलेसनमा उपचाररत रहनेको संख्या ८३ रहेको छ । हेटौँडा–६ गौरिटार रंगशालाको खेलाडी छात्रवासमा रहेको आइसोलेसनमा ७४ जना, कर्रा आइसोलेसनमा १ जना र मनहरी गाउँपालिकाको आइसोलेसनमा ८ जना गरी ८३ जना उपचाररत छन् ।

आइतबार एकैदिन ६९ जना कोरोनामुक्त
मकवानपुरमा आज आइतबार एकैदिन ३९ जनाले कोरोना जितेका छन् । हेटौंडा–४ स्थित कर्रा र हेटौंडा–६ स्थित गौरीटार आइसोलेसनमा उपचाररत संक्रमितहरुको २४ घण्टामा दुईपटक स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै डिस्चार्ज गरिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनामुक्त भएका ३९ जना सबैलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

१ सय १८ संक्रमित घरमै उपचाररत
हेटौँडामा सञ्चालित आइसोलेसन वार्डमा बेडको अभाव हुँदा मकवानपुरमा घरमै आइसोलेट भएर बस्ने कोरोना संक्रमतिको संख्या दैनिक बढ्दो छ ।

मकवानपुरमा कोरोना पुष्टि भइ घरमै आइसोलेसन बनाएर बस्नेको संख्या ११८ रहेको छ । स्वास्थ्यकर्मीहरुको नियमित सम्पर्कमा रहने गरी उनीहरु होम आइसोलेसनमा उपचाररत छन् ।

हेटौँडा उपमहानगरपालिकामा ११३ संक्रमित, मकवानपुरगढी गाउँपालिकामा २ जना र बकैया गाउँपालिकामा ३ जना गरी ११८ जना होम आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ । घरमै बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*