तीन दिन भित्र निर्णय फिर्ता लिन इष्टु मकवानपुरको चेतावनी

बाइलाइन नेपाल
१४ भाद्र २०७७, आईतवार ११:४२
फाइल तस्वीर

हेटौंडा । २०७७ भदौ महिनादेखि निजी विद्यालयका शिक्षक कर्मचारीको तलब दिन नसक्ने निर्णय गरेको प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिलाई संस्थागत विद्यालय शिक्षक युनियन( इष्टु) मकवानपुरले निर्णय फिर्ता लिन तीन दिन मौका दिएको छ । आज इष्टु मकवानपुर र हेटौंडा नगरकार्य समितिले विज्ञप्ती जारी गर्दै तीन दिन भित्र शिक्षक कर्मचारीलाई भदौ देखि तलब दिन नसक्ने भन्दै जारी गरेको विज्ञप्ती फिर्ता लिन आग्रह गरेको हो ।

इष्टु जिल्ला अध्यक्ष सचिन लामा र नगर अध्यक्ष सिएम रिमालद्वारा जारी विज्ञप्तीमा तीन दिन भित्र प्याब्सनले गरेको निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । गत असारमै प्याब्सन र इष्टुबीच केन्द्रीय तहमै सहमति भइसकेको अवस्थामा प्याब्सन मकवानपुरले गरेको निर्णयले इष्टुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा गतअसार ३१ गते प्याब्सन र एनप्याब्सन केन्द्रले देशभरका संस्थागत विद्यालयका शिक्षककर्मचारीलाई बेतलबी घरबिदामा राखेर अनलाइन कक्षाहरू बन्द गर्ने निर्णय गर्दै गर्दा देशव्यापी रूपमा इष्टु आन्दोलित भएको र जसका कारण गलत निर्णय फिर्ता लिन प्याब्सन, एनप्याब्सन बाध्य भई दुई पक्षबीच राष्ट्रियस्तरमा बेतलबी घरबिदाको निर्णय फिर्ता लिने, २०७६ चैतसम्मको तलब तत्काल भुक्तानी गर्ने र २०७७ वैशाखदेखिको तलब व्यावहारिक रूपमा चुक्ता गर्दै जाने सहमति भएको प्याब्सन मकवानपुरलाई स्मरण गराइएको छ ।

‘भदौ महिना बित्नै लाग्दासमेत दर्जन बढी विद्यालयहरूले २०७६ चैत्र मसान्तसम्मको तलब भुक्तानी नगरिरहेको, कतिपय विद्यालयहरूले शिक्षककर्मचारीलाई सेवाबाट निश्कासन गरिरहेको अवस्थाप्रति आवश्यक पहलकदमी नलिई भदौ १५ पछि विद्यार्थी भर्ना तथा शुल्क लिने विषयमा नेपाल सरकारले समेत बाटो खुला गरिसकेको अवस्था रहिरहेको साथै मकवानपुर जिल्लाको सन्दर्भमा प्रायः सबै विद्यालयहरूले अभिभावकलाई पनि राहत हुने गरी कम्तीमा शिक्षककर्मचारीलाई सेवासुविधा दिन पुग्ने न्यूनतम शुल्क लिनेदिने सर्तमा अनलाइन कक्षाहरू सञ्चालित भइरहेको अवस्थामा सञ्चालकहरूको छाता संस्थाले एक्कासि एकतर्फी रूपमा २०७७ भदौदेखि मकवानपुर जिल्लाका संस्थागत विद्यालयका शिक्षककर्मचारीलाई तलब उपलब्ध नगराउने र सेवाभावले काम गर्न शिक्षकर्मचारीलाई आव्हानसहितको विज्ञप्ति सार्वजनिक भएकोमा गम्भीर आपत्ति प्रकट गर्दै आजको मितिले ३ दिनभित्र उक्त गलत निर्णय फिर्ता लिन प्याब्सन जिल्ला तथा नगर समितिसँग युनियन जोडदार माग गर्दछ’–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्याब्सन मकवानपुरले अभिभावकबाट मासिक शुल्क नउठेकाले भदौबाट शिक्षक कर्मचारीलाई तलब दिन नसक्ने भनेकै दिन निजी विद्यालयका शिक्षकले तलब नदिए पढाउन नसक्ने बताउँदै शनिबार विज्ञप्ती जारी गरेको थियो । प्याब्सन मकवानपुर र नगरकार्य समितिले शुल्क नउठ्दा आर्थिक भार थेग्न नसकेको भन्दै भदौबाट तलब नदिने भन्दै विज्ञप्ती जारी गरेका थिए ।

प्याब्सनले कोरोना संक्रमणको समयमा पनि वैकल्पिक शिक्षण सिकाइ मार्फत् पठनपाठन जारी राख्दा सरकारको निजी विद्यालयले शुल्क लिने ठोस अवधारणा नआउँदा आर्थिक भार परेको भन्दै भदौ देखि शिक्षक कर्मचारीको तलब दिन नसक्ने बताएको छ । मकवानपुरमा यसअघि पनि तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकहरुले आन्दोलन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*