हेटौँडाकी कोरोना संक्रमित महिलाको मृत्यु

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार १४:१८

हेटौँडा ।  मिर्गौला रोगबाट ग्रसित हेटौँडाकी १ महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत हेटौँडा उपमहानगरपालिका- ४ की ४९ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको जनाइएको छ ।

सीएमसीको कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । २७ साउनमा मृतम महिला मिर्गौला डायलाइसिसका लागि चितवन मेडिकल कलेजमा आएकी थिइन् । उनको तीन पटकसम्म मिर्गौला डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजले बिरामी भर्ना गर्नुपूर्व नै कोरोना परीक्षण गर्ने गरेको छ ।

डायलाइसिस गर्ने क्रममै सीएमसीकै प्रयोगशाला गरिएको परीक्षणमा महिलालाई संक्रमण पुष्टि भएको थियो । शुक्रबार बिहान पनि हेटौँडा- १९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको सीएमसीमै उपचारको क्रममा मृत्यु भएको थियो ।

चितवनमा मात्रै शुक्रबार ३ जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका १/१ एक जना छन् । बागमती प्रदेशको मुकाम हेटौँडामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतक ६ जना सबै हेटौँडाका स्थायीबासी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*