मकवानपुरका निजी विद्यालयले शिक्षकलाई तलब दिन नसक्ने (विज्ञप्तीसहित)

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार १२:१२

हेटौंडा । मकवानपुरका निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिन नसक्ने बताएका छन् । शनिबार प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिले विज्ञप्ती जारी गर्दै २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएका छन् ।

प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी र प्याब्सन नगर कार्यसमिति हेटौंडाका अध्यक्ष राजकुमार नहर्कीद्वारा जारी विज्ञप्तीमा वैकल्पिक शिक्षण सिकाइको माध्यमद्वारा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिएपनि मासिक शुल्क नउठ्दा शिक्षक कर्मचारीलाई तलब दिन सक्ने अवस्था नभएको बताइएको छ ।

कोरोनाका कारण नयाँ शैक्षिक सत्रको सुरुवातबाटै विद्यालय बन्द रहेपनि वैकल्पिक शिक्षण सिकाइ मार्फत् निजी विद्यालयले पठनपाठन गरिरहेको उल्लेख गर्दै विज्ञप्तीमा २०७६ चैतसम्म सबै निजी विद्यालयले सबै शिक्षक कर्मचारीको आर्थिक दायित्व चुक्ता गरिसकेको उल्लेख छ । यस्तै २०७७ वैशाखदेखि साउन महिनासम्म विद्यालयहरुले व्यवहारिक रुपमा केही रकम शिक्षक कर्मचारीलाई उपलब्ध गराएकोमा भदौ देखि दिन सक्ने अवस्था नरहेको विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

सरकारी निकायबाट अहिलेको जटिल परिस्थितिमा पनि वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिई रहेका निजी विद्यालयलले शुल्क लिने ठोस अवधारणा नआउँदा आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको विज्ञप्तीमा उल्लेख छ । चाडोभन्दा चाडो विद्यालयमा शुल्क तिर्ने वातावरण बनाउन, वैकल्पिक शिक्षणलाई मान्यता दिलाउन स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*