हेटौंडाको पारिजातपथमा चोरको समूहले गर्यो तोडफोड

बाइलाइन नेपाल
९ भाद्र २०७७, मंगलवार १५:४१

हेटौंडा । हेटौँडाको मुख्य चोकमै सोमबार मध्यराति डकैती गर्ने समूहले हंगामा मच्चाएको छ । मकवानपुर तेक्वान्दो जिल्ला कार्यसमिति कार्यालयमा तोडफोड समेत भएको छ । हेटौँडा–४ पारिजातपथस्थित खेलकुद कभर्डहलमा रहेको तेक्वान्दो कार्यालयमा सोमबार राति करिब १२ बजे तोडफोड भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

पारिजातपथ बाक्लो बस्ती भएको स्थान हो । स्थानीय एक महिलाका अनुसार ४ जनाको समूहमा आएको समूहले कार्यालयको स्टिल दराज, टेबुलमा तोडफोड गरेका हुन् । अचम्मको कुरा चोरी गर्ने उद्देश्यले आएको समूहले कार्यालयबाट एउटा कागज पनि चोरी गरेको छैन । प्रहरीका अनुसार उनीहरु पैसा चोरी गर्ने मुख्य उद्देश्यले तेक्वान्दो कार्यालयका प्रवेश गरेका थिए ।

‘पैसा चोर्न आएको समूहले कार्यालयमा पैसा नभेटेपछि तोडफोड गरेका हुन् । दराज र अध्यक्षको टेबुलमा क्षति पुगेको छ,’ प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने । तेक्वान्दो कार्यालयमा एउटा लामो भेन्टिलेशन र दुईवटा ढोका छन् । चोरी गर्ने समूह भेन्टिलेशनबाट प्रवेश गरेर कार्यालयको ढोकाबाट निस्किएको तेक्वान्दा जिल्ला कार्यसमिति अध्यक्ष लालकाजीरत्न बज्राचार्यले बताए ।

उनीहरुले विशेष गरी दराज र टेबुलको घर्राको ताला तोडेका छन् । ‘चोरहरुको ध्यान पैसामा रहेछ । उनीहरुको नजर पहिला घर्रामा गएको छ । कतै पैसा नभएपछि कार्यालयमा तोडफोड गरेर निस्किएछन्,’ अध्यक्ष बज्राचार्यले भने । कार्यालयको कुनै भौतिक संरचना चोरी नभएको उनको भनाई छ । कभर्डहल क्षेत्रमा सीसीक्यामेरा नहुँदा चोरहरुको पहिचान गर्न नसकिएको प्रहरी नायव उपरीक्षक रानाले बताए ।

तोडफोड गर्ने युवाहरुको समूह लागूऔषध प्रयोगकर्ता रहेको आशंका प्रहरीलाई छ । तेक्वान्दो जिल्ला कार्यसमितिले प्रहरीमा कार्यालय तोडफोड गर्नेलाई कडा कारबाहीको माग गर्दै उजुरी दिएको छ ।तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए । ‘सीसीक्यामेरा नुहँदा तोडफोडमा संलग्नहरुको पहिचान गर्न समस्या भएको छ । घटनालाई सुक्ष्म अनुसन्धान गरिरहेका छौं । दोषी चाँडै पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौं,’ रानाले भने ।

तोडफोडमा संलग्नहरुले घरेलु हतियार बोकेको स्थानीय महिलालाई उदृत गर्दै तेक्वान्दा कार्यसमितिका अध्यक्ष बज्राचार्यले बताए । ‘स्थानीय महिलाले ४ जनाको समूहलाई राति १२ बजे देख्नु भएको रहेछ । उनीहरुको हातमा घरेलु हतियार थियो भन्ने जानकारी छ,’ महिलालाई उदृत गर्दै बज्राचार्यले भने ।–शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*