हेटौंडामा पोजेटिभ, ग्राण्डीमा नेगेटिभः २ दिनमा फरक-फरक रिपोर्ट !

बाइलाइन नेपाल
८ भाद्र २०७७, सोमबार २०:४३

हेटौँडा । हेटौँडा–४, कर्रा घर भएका विजय कार्की विगत ७ महिनादेखि ढाडको नशा च्यापिएको समस्याले ग्रसित थिए । गत साउनकै अन्तिम हप्ता घरको भर्‍याङ उक्लिँदा उनको ढाड सड्कियो । त्यसयता उनी १ भदौसम्म ओछ्यानमै थलिए । उनको दिशाब, पिसाब गत आइतबार एक्कासि रोकियो ।

सोही दिन (३२ साउनमा) ढाडको आकस्मिक शल्यक्रियाका लागि काठमाडौं जाने निधो गरे । तर, काठमाडौं जान कोरोना परीक्षणको रिपोर्ट आवश्यक भएपछि कार्कीले आइतबार स्वाब दिए ।

सोमबार उनलाई धेरै गाह्रो भएपछि तत्काल उपचारका लागि काठमाडौं जाने निश्चित भयो । हेलिकोप्टर बाेलाएर उनलाई काठमाडौंस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल पुर्‍याइयो । ‘सोमबार नै ढाडको अप्रेसन गर्ने निश्चित पनि भएको थियो,’ कार्कीले भने । तर, हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशलाको रिपोर्ट पोजिटिभ आएपछि ग्राण्डी झस्कियो ।

‘सोमबार नै शल्यक्रिया हुने थियो, कोरोना पोजिटिभ देखाएपछि ग्राण्डीले एकाएक अप्रेसन रोक्यो र मलाई प्रि–कोभिड वार्डमा लगेर राखियो,’ कार्कीले फोनमा भने । तर, उनलाई कोरोना पोजिटिभ देखिए पनि हस्पिटलले शल्यक्रिया भने गर्ने जानकारी गराएको कार्की बताउँछन् । ‘कोरोना देखिए पनि अप्रेसन गर्ने कुरा थियो । तर फेरि एक पटक स्वाब परीक्षण गर्ने कुरा भयो,’ उनले भने ।

मंगलबार ग्राण्डीमै गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको कार्कीले जानकारी दिए । उनले मंगलबार बिहान स्वाब दिएपछि रिपोर्ट साँझ ४ बजे नै आएको थियो । २ दिनमै फरक–फरक रिपोर्ट आएपछि हस्पिटल नै ‘कन्फ्युज’ भएको कार्कीले बताउँछन् । हस्पिटलले पुनः दोस्रो पटक स्वाब परीक्षण गराउन सल्लाह दिएपछि बुधवार कार्कीको पुनः स्वाब लिइएको थियो ।

बुधबारको रिपोर्ट पनि नेगेटिभ आएपछि ग्राण्डीले बिहीबार ढाडको शल्यक्रिया गरेको उनले बताएका छन् । ‘अघिल्लो दिन कोरोना पुष्टि भयो, भोलिपल्टै नेगेटिभ आयो । यसरी २ दिनमै फरक रिपोर्ट आउँदा मेरो शल्यक्रिया नै ३ दिन ढिला भयो,’ उनी भन्छन्, ‘बरु ग्राण्डीमा पनि पोजिटिभ आएको भए केही थिएन, समयमै शल्यक्रिया त हुन्थ्यो । नेगेटिभ आएपछि हस्पिटल झन् कन्फ्युज भएर शल्यक्रिया पनि पछि धकेलियो ।’

कार्कीकी श्रीमतीको रिपोर्ट पनि नेगेटिभ आएको छ । कार्कीले ग्राण्डी हस्पिटल र उनको शल्यक्रिया गर्ने डा. विनोद बिजुच्छेलाई धन्यवाद पनि दिएका छन् । उनले २ दिनमै फरक रिपोर्ट आउनुको कारण भने आफूले बुझ्न नसकेको बताए । ‘यसरी २ दिनमै कसरी फरक–फरक रिपोर्ट आयो, अचम्म लागिरहेको छ । शायद परीक्षण गर्ने मेसिनको खराबी हुन सक्छ । ल्याबमा परीक्षण गर्नेको गल्ती छ जस्तो मलाई लाग्दैन । यो प्राविधिक समस्या नै हुनुपर्छ,’ कार्कीले भने ।

म भाग्यले बाँचेँ

कार्कीले आफू भाग्यले बाँचेको प्रतिक्रिया दिएका छन् । आफूलाई ढाड दुखेर सहन सक्ने अवस्थामै नरहेको भन्दै काठमाडौं उपचारका लागि आउन नपाएको स्थितिमा जे पनि हुन सक्ने बताए ।‘शायद सोमबार बिहान कोरोना रिपोर्ट पोजिटिभ आएको भए आफू काठमाडौं आउन पाउँदिनँ थिएँ । हेलिकोप्टरले हेटौँडा लिन आउन मानेको थिएन । धेरै आग्रह गरेको भएर हेलिकोप्टर आएको हो । तर, साँझमा मात्रै पोजिटिभ रिपोर्ट आएकाले म भाग्यले बाँच्न सफल भएँ,’ कार्कीले सुनाए ।हेटौँडास्थित छिमेकीले पनि पोजिटिभ रिपोर्ट आएपछि नराम्रो व्यवहार गरेको कार्की बताउँछन् । आफ्नो परिवारलाई समेत मानसिक तनाव भएको उनकाे गुनासाे छ ।

–शिलापत्र डटकममा नवीन तिमल्सिनाले लेखेको समाचार साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*