हेटौंडामा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी

बाइलाइन नेपाल
७ भाद्र २०७७, आईतवार २१:१८

हेटौंडा । मकवानपुर जिल्लाको चार वटा स्थानीय तहमा लागु गरिएको निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा  प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका, मनहरी , भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

भदौ ९ गते राती १२ बजेसम्मलाई लागु गरिएको निषेधाज्ञाको समयलाई भदौ १५ गतेसम्म जारी राख्ने तयारी जिल्ला सुरक्षा समितिले गरेको जनाइएको छ । समितिका सदस्य र सरोकारवालासँग छलफल गर्दा भदौ १५ गतेसम्म निषेधाज्ञालाई कायम राख्न सुझाव आएको जनाइएको छ । भोली सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सम्भवत १५ गतेसम्म थप्ने निर्णय गर्ने जनाइएको छ ।

अब थप्ने निषेधाज्ञाको समयमा बैंकसहित केही क्षेत्रमा खुकुलो बनाउने तयारी भएको छ । केन्द्रका सदस्यहरुको सुझाव अनुसार निषेधाज्ञाको मोडलमा केही परिवर्तन हुन सक्ने जनाइएको छ ।

प्रशासनले सुरुमा गत साउन २६ गतेबाट ३२ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । साउन ३१ गते प्रशासनले निषेधाज्ञालाई भदौ ९ गतेसम्म लम्ब्याएको थियो । अब भदौ १५ गतेसम्म निषेधाज्ञा कायम हुने जनाइएको छ । चारै स्थानीय तहमा निषेधाज्ञा कायम रहन्छ वा स्थानीय तह अझै थपिन्छ अध्ययन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*