हेटौंड अस्पतालसहित वाग्मतीका ४ जिल्लामा पीसीआर प्रयोगशाला

बाइलाइन नेपाल
७ भाद्र २०७७, आईतवार १६:३७

हेटौंडा । वाग्मती प्रदेशका चारवटा जिल्लामा कोरोना परीक्षणको लागि प्रयोगशाला स्थापना गरिने भएको छ । प्रदेश सरकारले कोरोना संक्रमणको अवस्था झन् भयावह हुँदै गएको भन्दै भदौ अन्तिमसम्म चारवटै जिल्लामा प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोगशाला स्थापनाको लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।

मन्त्रालयका अनुसार नुवाकोटको त्रिशुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र मकवानपुरको हेटौँडा अस्पतालमा प्रयोगशाला स्थापना गरिने भएको छ । हाललाई पीसीआर परीक्षणको लक्ष्यले स्थापना गर्न लागिएको प्रयोगशाला दीर्घकालिन रुपमा उपयोग गर्न मिल्ने गरी निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा।पुरुषोत्तमराज सेढाईंले आगामी ३ हप्ताभित्र चारवटै प्रयोगशाला निर्माण गरिसक्ने बताए ।  उनका अनुसार एउटा प्रयोगशाला तयार गर्न करिब ६० लाख रुपैयाँ खर्च हुनेछ । चारवटै सरकारी अस्पतालमा कोरोना परीक्षणको लागि प्रयोगशाला स्थापना गरेर दीर्घकालिन रुपमा विकास गर्ने उद्देश्य प्रदेश सरकारको छ ।

प्रदेश सरकारले पीसीआर मेसिन खरिदको लागि प्रक्रिया अगाडि बढाएको डा।सेढाईंले जानकारी दिए ।  ‘३ हप्ताभित्र प्रयोगशाला स्थापना गर्ने लक्ष्य छ । यसको लागि पीसीआर मेसिन खरिद गर्न प्रक्रिया अगाडि बढाएका छौं,’ सेढाईंले भने । तेस्रो मुलुकबाट पीसीआर मेसिन खरिद गरी ल्याउनु पर्ने भएकोले केही समय लाग्ने सेढाईंको भनाई छ ।

प्रदेशका ४ जिल्लामा प्रयोगशाला स्थापनापछि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका चाल्न सकिने प्रवक्ता सेढाईंले बताए । ‘प्रदेशमा पछिल्लो केही समयदेखि संक्रमितको संख्या धेरै बढेको छ । यस कारण प्रदेश सरकार चिन्तित छ । त्यसैले चारवटा जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको हो,’ उनले भने ।

प्रदेश सरकारले चैत्त अन्मित सातादेखि हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरेको थियो । यहाँ दैनिक ४ सयको हाराहारीमा स्वाब परीक्षण हुँदै आएको छ । मन्त्रालयका अनुसार तालिम केन्द्रमा रहेको प्रयोगशालालाई यथावत सञ्चालन गरी हेटौँडा अस्पतालमा छुट्टै प्रयोगशाला निर्माण गरिने भएको छ ।– शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*