अनलाइन मार्फत राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

बाइलाइन नेपाल
५ भाद्र २०७७, शुक्रबार १६:१०

हेटौंडा । जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत जिल्ला बुद्धिचाल संघको आयोजनामा अनलाइन मार्फत् बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जेसीज सप्ताह अन्तर्गत पहिलो कार्यक्रम भदौ १३ गते राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरका एक सयभन्दा बढी प्रतियोगीको सहभागिता रहने जेसीआई हेटौंडाका उपाध्यक्ष एवम् बुद्धिचाल प्रतियोगिताका संयोजक विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि मध्येबाट कुल २४ जनालाई २१ हजार पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ । स्विस लिगको आधारमा ११ राउण्ड खेल हुनेछ । कोरोनाको प्रभावका कारण यस वर्ष जेसीजले जेसीज सप्ताह पनि अनलाइनमार्फत गर्न लागेको श्रेष्ठले बताए ।

कोरोनाको प्रकोपमा जमघट गरेर प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था नभएकाले अनलाइनमार्फत हेटौंडा जेसीजसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको बुद्धिचाल संघ वाग्मती प्रदेशका कोषाध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उनले कोरोनामा त्यसै घर बस्नु भन्दा प्रतियोगिताले खेलाडीलाई पुनर्ताजगी गर्नुका साथै मानसिक रुपमा स्फूर्त रहन प्रेरित गर्ने बताए ।
भदौ १३ गते दिउँसो साढे एक बजेबाट सुरु हुने प्रतियोगिताको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण हुने भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*