भीमफेदीमा १० शैयाको आइसोलेसन बनाईँदै

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार १७:५६

हेटौंडा । कोरोना संक्रमितलाई उपचारका लागि राख्ने स्थानको अभाव हुँदै गएपछि स्थानीय तहलेपनि आइसोलेसन निर्माणमा लागेका छन् । मनहरी गाउँपालिकाले सञ्चालनमा ल्याइसकेको अवस्थामा भीमफेदी गाउँपालिकाले पनि आइसोलेसनको तयारी थालेको छ ।

भीमफेदी गाउँपालिकामा १० शैयाको आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको अध्यक्ष हिदम लामाले जानकारी दिए । उनका अनुसार अहिले भीमफेदीको क्वारेन्टिन रहेको महेन्द्र माविलाई नै आइसोलेसन वार्डको रुपमा सञ्चालन गर्न लागिएको हो । क्वारेन्टिन भने भीमफेदी बजार क्षेत्रमै रहेको भीम आधार कम्यूनिटी स्कूलमा सञ्चालन गर्ने योजना रहेको लामाले बताए । कोरोना अस्वभाविक रुपमा बढ्दै गएभने व्यवस्थापन गर्न स्थानीय सरकार तयारी अवस्थामा रहनुपर्ने भएकाले आइसोलेसनको तयारीमा लागेको उनले जानकारी दिए ।

हालसम्म भीमफेदी गाउँपालिकामा १० जनामा कोरोनाको सङ्क्रमण पाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए । उनका अनुसार भीमफेदीमा पर्याप्त जनशक्ति र स्वास्थ्य मापदण्ड पूरा हुने भएकोले आइसोलेसन वार्ड सञ्चालनमा ल्याइने भएको हो ।

अहिलेसम्म भीमफेदीका ११ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको ३ जना निको भइसकेको स्वास्थ्य संयोजक थिङले बताए । संक्रमित मध्ये एकजना होम आइसोलेसनमा र अरु हेटौंडामा रहेको आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*