जाहेरी बिनै किन दैनिक हाजिरी तोक्यो सन्तोष न्यौपानेलाई प्रहरीले ?

बाइलाइन नेपाल
३ भाद्र २०७७, बुधबार १२:१५

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाहेरी र उजुरी बिना नै एक व्यक्तीलाई दैनिक हाजिरी तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का सचिव सन्तोष न्यौपानेलाई लिखित उजुरी बिना नै दैनिक ५ घण्टा जिल्ला प्रहरी कार्यालयमा बस्नुपर्ने भन्दै हाजिरी तोकेको छ ।

जिल्लामा ढुङ्गा गिटी, बालुवामा भइरहेको आर्थिक धन्दाको बिषयमा स्टाटस लेखिएको बिषयलाई लिएर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलाल संयोजक रहेको अनुगमन समितिको बैठकमा चर्चा चलेसँगै उनलाई प्रहरीले बोलाएर बिना उजुरी हाजिरी थमाएको बताइएको छ । स्टाटस लेखेपछि न्यौपाने ३ दिन देखि दैनिक हाजीरमा रहेका छन् ।

जाहेर र उजुरी बिना प्रहरीले दैनिक हाजिरी तोकेपनि घटना मिलाउनका लागि एक प्रहरीले समन्वय समितिका प्रमुखलाई भेट्न भनेको उनले बताए । समन्वय समितिका प्रमुख खुलालले मौखिक रुपमा भनेको भरमा प्रहरीले आफुलाई दुःख दिएको न्यौपानेले बताए । उनले यसअघि पनि अनावश्यक रुपमा आफुलाई मकवानपुर प्रहरी प्रमुखले दिनभर प्रहरी कार्यालयमा राखेको न्यौपानेले आरोप लगाएका छन् । पटकपटक अनावश्यक रुपमा दुःख दिने काम प्रहरी गरेको भन्दै मानवअधिकारीवादी तथा पत्रकारलाई आफ्नो घटनाको स्वतन्त्र रुपले छानविनका लागि आग्रह समेत गरेका छन् ।

घटना बारे जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पूर्वाग्रह साधेर स्टटाटस् लेखिएको बताए । त्यसको बारे अनुगमन समितिको बैठकमा कुरा गरेको हुँ, बिना तथ्य र आधार लेखिएको छ, उनले भने । ‘उजुरी ठूलो कुरा होइन दिनुपरे दिन्छु’ उनले भने ।

मकवानपुका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले समन्वय प्रमुखले सामाजिक सञ्जालमा आएको बिषयमा कुरा गरेपछि आफुले प्रहरी प्रमुखलाई भनेको भएपनि कारवाहि बारे जानकारी नभएको बताए । दैनिक हाजिरी बारे मकवानपुरका प्रहरी नायब उपरीक्षक इनद्रबहादुर रानाले सामाजिक सञ्जालमा लेखिएको बिषय भएकाले अनुसान्धानको क्रममा रहेको बताए । ‘हामी अनुसन्धान गर्दैछौं, त्यसैले दैनिक हाजिरीमा राखेको हौै’ उनले भने । न्यौपाने मकवानपुरका पुराना पत्रकार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*