मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आफैं जारी गर्यो ‘निषेधाज्ञा’

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार २१:१२
फाइल तस्वीर

हेटौंडा । कोरोना संक्रमण रोकथामका लागि जिल्लाका तीनवटा स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले मकवानपुरले निषेधाज्ञा जारी गरेको अवस्थामा इन्द्र सरोवर गाउँपालिका कार्यालयले भने आफै निषेधाज्ञा जारी गरेको छ ।

पछिल्ला दिनहरुमा कोरोना रोगको संङ्क्रमण देशभर बढिरहेको र कोरोना महामारी इन्द्रसरोवर गाउँपालिकामा पनि समुदाय स्तरमा फैलन सक्ने सङ्केत देखा परेको भन्दै गाउँपालिका कार्यालयले मंगलबार राती १२ बजेबाट भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार नै थाहा नगरपालिकाले जिल्ला प्रशासनलाई निषेधाज्ञाका लागि आग्रह गरेपछि प्रशासनले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । आफै निषेधाज्ञा जारी गर्ने इन्द्रसरोवर मकवानपुरको पहिलो स्थानिय तह हो ।

गाउँपालिकाका अध्यक्ष जीवन लामाद्वारा जारी अपिलमा कोरोना सङ्क्रमणलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि परीक्षण र कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन पर्ने बाध्यात्मक अवस्थामा निषेधाज्ञा जारी गर्नु परेको उल्लेख छ । गाउँपालिकाको अपिलमा निषेधाज्ञा नभने पनि प्रशासनले जारी गरेको निषेधाज्ञाको जस्तै सेवा बन्द तथा सुचारु गर्ने भनिएको छ ।

गाउँपालिकाले तोकिएका अत्यावश्यक सेवाहरु, विहान ६ बजेदेखि ९ बजे सम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउने जनाएको छ । ति बाहेक अन्य सेवाहरु बन्द गर्न गराउन सम्पूर्ण उद्योग, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ । कोरोना रोगको शंका लागेमा उच्च मनोबलका साथ सुरक्षा सावधानी अपनाई नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई जानकारी गरी यस अपिलको पूर्णरुपमा कार्यान्वयन गरी सहयोग गरिदिनुहुन सम्पूर्ण गाउँपालिकावासीहरुलाई अपिल गरिएको छ ।

गाउँपालिका अनसार दमकल, एम्वुलेन्स, औषधि पसल, अस्पतालहरु, अनुमति प्राप्त सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । दूध, डेरी, फलफूल, तरकारी, पानी, खाद्यान्न पसल, ग्यास डिपो, बैङ्क तथा अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरु सुरक्षाका मापदण्ड अपनाई तोकिएको समय बमोजिमसञ्चालन गर्न पाइने छ ।

यस्तै सबै प्रकारका सभा, गोष्टी, तालिम, सेमिनार, धार्मिक, समाजिक तथा सांस्कृतिक कार्यक्रम,पार्टी प्यालेस, होटेल रेष्टुरेन्ट, मनोरञ्जन स्थल, भट्टी पसल, उद्योग कलकारखाना तथा सवै प्रकारका पसलहरु, निजी, सरकारी तथा गैर सरकारी संस्था, विद्यालय, फुटबल, भलिबल, पुल हाउस लगायतका सम्पूर्ण समुहमा खेलिने खेलहरु, माछा बिक्री केन्द्र, अन्य स्थानीय तह बाट आउन र अन्य स्थानीय तहमा जान, जिल्ला प्रशासन कार्यालय वा यस गाउँपालिकाको अनुमति बिनाको सवारी साधन पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*