कोरोना त्रासः अब थाहा नगरपालिकामा पनि निषेधाज्ञा

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार १७:३५

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा पनि कोरोना संक्रमणको त्रासका कारण निषेधाज्ञा जारी भएको छ । नगरपालिका भित्र संक्रमित देखा परेसँगै यसको रोकथामका लागि थाहा नगरपालिकाको कार्यपालिक बैठकले निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गरेको थियो ।

नगरपालिका विभिन्न सरोकारवाल निकाय र सर्वसाधारणले संक्रमण रोकथामका लागि निषेधाज्ञा आवश्यक रहेको सुझाव नगरपालिकालाइ दिएपछि कार्यपालिकाको बैठक बसेर निषेधाज्ञाका लागि प्रशासनलाई आग्रह गरेको थियो । सोही अनुरोध बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकामा पनि निषेधाज्ञा जारी गरेको छ । थाहा नगरपालिका भित्र निषेधाज्ञा लागु हुने जनाइएको छ ।

थाहा नगरपालिकामा आज भदौ २ गते मंगलबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । निषेधज्ञा भदौ ९ गतेसम्म लागु हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा पनि ९ गतेसम्म निषेधाज्ञा जारी छ ।

थाहा नगरपालिकामा निषेधज्ञा जारी भएसँगै अत्यावश्यक तथा ढुवानी बाहेकका सबै सवारीसाधन बन्द हुने भएका छन् । तरकारी, खाद्यन्न तथा अत्यावश्यक सामग्रीको लागि बिहान ९ बजेसम्म मात्र अनुमति दिईएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए । निषेधाज्ञामा बैक तथा वित्तिय संस्था पनि बन्द रहने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा थाहा नगरमा स्वाब संकलन गरेर परीक्षणलाई जोड दिने मेयर विष्टले बताए । उनले शंका लागेका तथा यात्रा गरेका सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षण गर्ने कामलाई तीब्रता दिने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*