हेटौँडाको आइसोलेसनमा बसेका संक्रमितलाई ‘जेरी’ र ‘फुरौला’ मात्रै !

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १७:४८

हेटौँडा–६ गौरिटार रंगशालाको खेलाडी छात्राबासमा हालै स्थापना गरिएको आइसोलेसनमा बसेका संक्रमितले भोक्कै बस्नु परेको गुनासो गरेका छन् । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिका कार्यालयले स्थापना गरेको आइसोलेसनमा हाल १५ जना संक्रमित छन् । उनीहरूमध्ये ९ जनालाई शुक्रबार बेलुका हेटौँडा–४ कर्रास्थित आइसोलेसनबाट स्थानान्तरण गरिएको हो । बाँकी ६ जना संक्रमितलाई शनिबार बिहान आइसोलेसनमा लगिएको थियो ।

आज बिहान ७ बजे आइसोलेसनमा भर्ना भएकी १ संक्रमित युवतीले दिउँसो २ बजेसम्म पनि खाना खान नपाएको गुनासो गरेकी छन् । ‘म बिहान ७ बजे आइसोलेसन आइपुगेको । आएदेखि एउटा जेरी र फुलौरा (पिठोको ठल्लोलाई तेलमा तारिएको) मात्रै खान पाएको छु’,  फोनमा कुरा गर्दै उनले भनिन् । उनका अनुसार आइसोलेसनमा खानेपानी, शौचालयको भने राम्रो व्यवस्था छ । संक्रमितको लागि वाइफाई पनि राखिएको छ ।

संक्रमित युवतीसँगै हेटौँडामै कार्यरत एक प्रहरी महिला पनि छन् । संक्रमित महिला प्रहरीले भोक लागेको कारण वान्ता गरिरहेरको उनले बताइन् । ‘प्रहरी दिदी पनि मसँगै हुनुहुन्छ । भोक लाग्यो भनेर गुनासो गरिरहनु भएको थियो । अहिले त वान्ता गरिरहनु भएको छ । उहाँले ग्यासटिकको कारण भोकले वान्ता आउने गरेको मलाई सुनाउनु भयो’,  सम्पर्कमा आएकी संक्रमित युवतीले भनिन् ।

आइसोलेसनमा रहेका १५ जना संक्रमित भोक्कै बसेको उनले जानकारी दिएकी हुन् । आइसोलेसन व्यवस्थापन गर्ने निकायलाई गुनासो गरे पनि १२ बजेको समयमा जेरी र फुलौरा ल्याएर दिएको उनको भनाइ छ । उता, आइसोलेसनका व्यवस्थापन पक्ष सम्हालेका हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले भने संक्रमितले झुट बोलेका बताएका छन् । उनले खाना दिने समय ढिला भएको भन्दै १२ बजे सबै संक्रमितलाई खाना खुवाइएको जानकारी दिए । ‘उहाँहरूले किन झुट बोल्नु भयो थाहा छैन् । तर, हामीले भन्दा पहिला संक्रमितहरुलाई खाना ल्याएका दिएका हौँ’, पौडेलले भने ।

उनका अनुसार आइसोलेसनमा भान्साको कुनै व्यवस्थापन भएको छैन् । गौरिटार आइसोलेसनमा बसेका संक्रमितलाई खाना खुवाउन हेटौँडा–४ कर्राको आइसोलेसनबाट पकाएर ल्याएको अध्यक्ष पौडेलले बताए । ‘यहाँ भान्साको व्यवस्थापन भइसकेको छैन् । त्यसैले कर्राबाट खाना पकाएर ल्याएका हौँ । टाढाबाट ल्याउँदा ढिला हुनु स्वभाविक हो । तर, खाना नै नदिएको भने होइन्’, पौडेल भन्छन् ।

हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना कुमारी लामाले भने हतारहतारमा आइसोलेसन सञ्चालनमा ल्याएको भन्दै केही कमजोरी हुन गएको बताइन् । ‘संक्रमितले खाना खान नपाएको कुरा ढिला गरी जानकारीमा आयो । हतारमा आइसोलेसन सञ्चालन गरेका हौँ । त्यसैले पनि केही कमजोरी भयो होला । आगामी दिनमा यस्तो हुँदैन्’, लामाले भनिन् ।

हेटौँडामा वितेको १ हप्तादेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ । ३५ बेड क्षमताको कर्रास्थित आइसोलेसनले धान्न नसकेपछि गौरिटारमा नयाँ आइसोलेसन तयार पारिएको हो । ५ दिनअघि नेपाली सेनाको सहयोगमा निर्माशिलापत्र डटकममा नवीन तिमल्सिनाले लेखेको समाचार साभारण थालिएको आइसोलेसन आज शनिबारदेखि सञ्चालनमा आएको हो । गौरीटार आइसोलेसनको १ सय जना संक्रमितलाई राख्न सक्ने क्षमता रहेको छ ।-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*