हेटौंडामा कोरोना संक्रमितको उपचार गर्न ६ वटा भेन्टिलेटर जडान गरिदै

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १५:१२

हेटौंडा । ढिलै भएपनि कोरोना संक्रमितको उपचारलाई लक्षित गर्दै वाग्मती प्रदेश सरकारले राजधानी हेटौंडामा ६ वटा भेन्टिलेटरसहितका उपकरण जडान गर्ने भएको छ । राजधानी हेटौंडासहित प्रदेशका विभिन्न जिल्लामा रहेका सरकारी अस्पतालमा भेन्टिलेटरसहित अन्य उपकरण जडान गर्न लागेको मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय अनुप पौडेलले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले राजधानी हेटौंडाको हेटौंडा अस्पतालमा ६ वटा भेन्टिलेटर, सिन्धुली अस्पतालमा एक, नुवाकोटको त्रिसुली अस्पतालमा दुई, भक्तपुर अस्पतालमा तीन, धादिङ अस्पतालमा दुई वटा भेन्टिलेटर उपलब्ध गराउन लागिएको पौडेलले बताए । उनका अनुसार कोरोनाको उपचारसँगै प्रदेश सरकारले स्तरोन्ती गर्ने भनेका अस्पताललाई समेत लक्षित गरेर भेन्टिलेटर उपलब्ध गराइएको छ ।

हेटौंडा अस्पतालमा अब भेन्टिलेटरको संख्या ९ वटा हुने भएको छ । यसअघि ३ वटा भेन्टिलेटर रहेको हेटौंडा अस्पतालमा अब ६ वटा जडान गर्न लागिएको हो । कोरोना संक्रमित बढ्दै गएको र भेन्टिलेटरमा राख्नपर्ने अवस्थालाई ध्यान दिदै हेटौंडासहितका अस्पतालमा जडान थालिएको जनाइएको छ ।

आईसियु सञ्चालन गर्ने पूर्वाधार भएका, बिरामीको चाप, सेवा लिन आउने क्षेत्र र जनशक्तिको अध्ययन गरेर अहिले उपकरण जडान गर्न लागेको स्वकिय पौडेलले बताए । अहिले पाँच जिल्लाका अस्पतालमा १४ वटा भेन्टिलेटरसहितका उपकरण जडान हुँदैछ । सबै जिल्लामा भौतिक संरचना तयारी अवस्थामा रहेका उपकरण लगेर अब जडानको काम सुरु हुने उनले उल्लेख गरे । चार दिन भित्रमा सबै जिल्लाका अस्पतालमा जडान भइसक्ने जनाइएको छ ।

उनले दिएको जानकारी अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताल, भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल र सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन लागिएको हो । भेन्टिलेटर १६ थान रहेकोमा अहिले १४ थान जडान गर्न लागिएको हो ।
यस्तै कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, ईलेक्ट्रो कार्डियोग्राफ ३ थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अल्ट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्याँस एनलाईजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सिमिटर पल्स २० थान, आईसियु बेड ५० थान रहेको पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*