मकवानपुरको बकैयामा संक्रमित भेटिएपछि गाउँ नै सिल

बाइलाइन नेपाल
२९ श्रावण २०७७, बिहीबार १९:०५

कोरोना संक्रमण पुष्टि हुनु अगावै गाउँका सबै घरमा संक्रमित पुगेको भन्दै मकवानपुरमा एउटै गाउँका ४० घर सिल गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–४ जुरेली गरगरेस्थित शान्तिटोल क्षेत्रका ४० वटा घर बिहीबार सिल गरिएको हो ।

गाउँपालिका अध्यक्ष दामोदार खनालले संक्रमित युवती गाउँका सबै घरमा डुलेको कारण संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सिल गरिएको जानकारी दिए । बकैयाकी संक्रमित युवतीलाई २५ साउनमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित युवती हेटौँडास्थित १ सहकारीमा काम गर्दै आएकी थिइन् । रक्षा बन्धनको अवसर पारेर १६ साउनमा घर गएकी उनी २२ गतेमात्र हेटौँडा फर्किएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिएकी छन् ।

‘संक्रमित युवती घर आएको बेला गाउँका अधिकांश घरमा डुलेको पाइएको छ । त्यसैले आगामी दिनमा कोरोना संक्रमण फैलिन सक्ने डरले ४० घरमा सिल गरेका हौँ’, उपाध्यक्ष बोलखेले शिलापत्रसँग भनिन् ।

उनै संक्रमित महिलाको परिवारका थप २ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो । ‘संक्रमित महिलाको परिवारमा पनि कोरोना देखियो । संक्रमितको घरसँगै ४० वटा घर एकैठाउँमा छ’, गाउँपालिका उपाध्यक्ष बोलखेले भनिन् ।

सिल गरिएको ४० घरमा करिब २ सय बस्दै आएको उनले जानकारी दिइन् । सबै जनालाई १ घरबाट अर्को घरमा जान नदिइने बताइएको छ । ‘उहाँहरू अब एक घरबाट अर्को घरमा जान पाउँनुहुन्न । घरको आगँनसम्म निस्किन पाउनुहुन्छ । खेत बारीमा काम गर्न जान परेको खण्डमा सुरक्षित भई अन्य व्यक्ति भन्दा टाढा रहनु पर्नेछ’, गाउँपालिका अध्यक्ष खनालले भने ।

सिल गरिएको क्षेत्रमा भीडभाड र सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । गाउँपालिकाले शुक्रबार सिल गरिएको संक्रमितको घर नजिकको परिवारका सदस्यको स्वाब परीक्षण गर्ने अध्यक्ष बोलखेले जानकारी दिइन् । परीक्षणमा नेगेटिभ आए सिल खोल्न सकिने र कोरोना संक्रमण देखिए अनिश्तिकालको लागि सिल कायम राखिने भएको छ ।

मकवानपुरमा गत हप्तादेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीवारसम्मको तथ्यांक अनुसार जिल्लामा संक्रमितको संख्या १ सय ३७ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । –शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*