हेटौंडामा कोरोना संक्रमित राख्ने स्थानको अभाव

बाइलाइन नेपाल
२८ श्रावण २०७७, बुधबार ०८:०६

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा ३५ बेडको एउटामात्रै आइसोलेसन वार्ड छ । यही आइसोलेसनमा १ हप्ता अघिसम्म संक्रमित राख्न बेड प्रसस्तै थियो । तर, २५ साउनदेखि हेटौँडामा संक्रमितको संख्या ह्वात्तै बढेपछि आइसोलेसनका कर्मचारी तनावमा परेका छन् । हेटौँडामा आज मंगलबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ४७ पुगेको छ । आइसोलेसन वार्डका कर्मचारीलाई संक्रमित कहाँ राख्ने भन्ने विषयमा चिन्ता बढेको छ ।

हेटौँडा–४ कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन वार्डमा हाल ३४ जना संक्रमित र १ जना संकास्पद व्यक्तिलाई भर्ना गरी राखिएको छ । आज मंगलबार हेटौँडाका मात्रै १३ जना नयाँ संक्रमित थपिए । ती थपिएका संक्रमितलाई कहाँ राख्ने भन्ने विषयमा आइसोलेसनका कर्मचारी तनावमा परेका हुन् ।

‘आइसोलेसनको क्षमता नै ३५ बेडको छ । हाल ३४ जना संक्रमण पुष्टि भएका र १ जना संकास्पद भर्ना गरी राखिएको छ । सक्रिय संक्रमितको संख्या ४७ पुगिसकेको छ । बाँकी १३ जना संक्रमितलाई कहाँ राख्ने रु, हामलाई तनाव भइरहेको छ’, आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले भने । उनले संक्रमितहरू चौरमै सुत्नुपर्ने अवस्था आएको बताएका छन् । ‘न बेड छ न कुनै व्यवस्था गरिएको छ । सबै मेरो जिम्मा छोडिएको छ । मैले कता तिर हेरौँ । १, २ जना संक्रमित हो’र १३ जना थपिए । अब उनीहरूलाई कहाँ राख्ने म तनाव भएर केही भन्न सक्ने स्थितिमै छैन्’, फोनमा कुरा गर्दै इञ्चार्ज चौलागाईंले गुनासो गरे । उनका अनुसार सम्बन्धित निकायले समयमै ध्यान नदिँदा यस्तो समस्या आइपरेको हो ।

आइसोलेसनले २५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्न हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशाला पठाएको थियो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृतसमेत रहेका चौलागाईंका अनुसार प्रयोगशालामा आज साँझ गरिएको परीक्षणमा ९ जना पुरुष र ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित हेटौँडा–१ का ४३ बर्षीया महिला, हेटौंडा–४ की १ महिला र १ पुरुष, हेटौँडा–५ का २ महिला र २ पुरुष, हेटौँडा–१० का ४ जना पुरुष र हेटौँडा–१३ का २ पुरुष छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*