विद्यालयमा राखिएका आईसोलेसन हेटौंडाबाट हटाउन सुरु

बाइलाइन नेपाल
२७ श्रावण २०७७, मंगलवार १८:५१

हेटौंडा । वाग्मती प्रदेश सरकारले विद्यालयबाट आईसोलेसन र क्वारेन्टाइन हटाउने भएको छ । कोरोना भाइरसको प्रकोप सुरु भएपछि विद्यालयमा निर्माण गरिएका आइसोलेसन तथा क्वारेन्टाइनहरु हटाउन थालिएको हो ।

विद्यालयमा रहेका आईसोलेसन र क्वारेन्टाइन हटाएर अन्य स्थानमा व्यवस्थापन गरिने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । वाग्मती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको उनले बताए । मङ्गलबारबाट नै सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको मन्त्री दुलालले जानकारी दिए ।

आईसोलेसन हटाउने निर्णय कार्यान्वयन गर्न वाग्मती प्रदेशको राजधानी हेटौंडाको श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन हेटौंडामा निर्माणाधिन अवस्थामा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटार रंगशालाको छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिने लागेको आइसोलेसन निर्माण स्थलमा मुख्यमन्त्री डोरमणि पौडेल पुगेर निरीक्षण गरेका छन् । उनले छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उनले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताए ।

यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबास सँगै निर्माणको अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताए ।

निरीक्षणमा प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*