आजबाट हेटौंडा र मनहरीमा निषेधाज्ञा,यि हुन सञ्चालनमा रहने सेवा

बाइलाइन नेपाल
२६ श्रावण २०७७, सोमबार २१:०६
फाइल तस्वीर

कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार मध्यरातबाट हेटौंडा उपमहानगर र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले हेटौंडा उपमहानगरपालिका र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकाको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । यी क्षेत्रमा निषेधाज्ञा गर्न आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । ३२ साउन राति १२ बजेसम्म निषेधाज्ञा गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

‘निषेधाज्ञामा औषधि उपचार र खाद्य वस्तु खरिद बाहेक कुनै व्यक्ति घर बाहिर निस्किन पाइँदैन’, प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन र जिल्ला प्रशासनबाट जारी भएका सवारी मात्रै सञ्चालनमा गर्न पाइनेछ ।

खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उनले बताए । स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी तथा निजी कार्यालयहरु, गैरसरकारी, बैंक, वित्तिय संस्था खोल्न नपाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*